चितवन विशेष
२०७४ सालमा मैले हार्दा चितवन–३ को विकास पाँच वर्ष पछाडि धकेलियो: विक्रम पाण्डे

चितवन, कात्तिक १९–
प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नं.३ का उम्मेदवार विक्रम पाण्डेले पार्टीको निर्देशन र आफन्तले भनेको भरमा मतदान गर्दा आफैँमाथि घात गरिरहेको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं.१४ को राधापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले भन्नुभयो, ‘सुनको थालीजस्तो सुन्दर देशका हामीले हामीलाई नै चिनाउन सकेनाँै । चुनावको बेला हामी आफैँले आफैँमाथि घात हुने काम गरिरहेका छौँ ।’
चुनावका बेला गाउँमा एकैघरका दाजुभाइबीचमा पनि द्वन्द्वको अवस्था सिर्जना गरेर जनतालाई दुःख दिने काम मात्रै भएको उहाँको भनाइ छ । ‘मेरो हाम्रो काम भएन, हाम्रा समस्या समाधान भएन भन्छौँ । तर, हरेक निर्वाचनमा गलत नेतृत्व चुनेपछि त्यसको असर हामीलाई नै हो,’ उहाँले भन्नुभयो ।
त्यसैले यसपटकको निर्वाचनमा नेतृत्व चयनका लागि आफैँले बुझ्नुपर्ने नेता पाण्डेको भनाइ छ । ‘यसपटक आफ्नो लागि, सन्तानको लागि र भविष्यको लागि मतदान गरौँ भनेर बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
पाण्डेले जनहितमा कानुन बनाउनु आवश्यक रहेको बताउनु भएको छ । जनताको विकास गर्न चाहने व्यक्तिले कानुन संशोधन गरेर काम गर्ने हो भने कुनै पनि जनता दुःखमा नपर्ने उहाँको विचार छ । नेता पाण्डेले भन्नुभयो, ‘जनतालाई विकास चाहिएको छ, कानुनले दिँदैन भने कानुन मिचेर काम गर्ने होइन । कानुनलाई नै संशोधन गरेर विकास निर्माण गर्नुपर्छ ।’ त्यसको लागि सही नेतृत्व चुन्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘कानुनविपरीत कसैलाई पनि काम गर्ने छुट छैन,’ उहाँले थप्नुभयो, ‘तर, त्यही कानुन पनि जनताको हितमा हुनुपर्छ भन्ने कुरा कुनै पनि नेतृत्वले बिर्सनु हुँदैन ।’
यस्तै, पाण्डेले आफू र राष्ट्रिय प्रजातन्त्र पार्टी पृथ्वीनारायण शाहको पथमा हिँडेको बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २० माइलीचोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले पृथ्वीनारायण शाहले देशले जस्तै देश विकास गर्ने योजनासहित चितवन–३ बाट चुनावी मैदानमा आएको दाबी गर्नु भएको छ ।
देशमा भएका उद्योगधन्दा पनि बन्द गरेर युवालाई विदेश पठाउने परम्पराको विकास राजनीतिक दलबाटै भएको हुँदा भएका उद्योग सञ्चालन गर्ने, आवश्यक परेका ठाउँमा नयाँ उद्योग खोल्ने र युवालाई देशभित्रै रोक्ने उद्देश्यका लागि पनि आफूलाई जिताउन उहाँले आग्रह गर्नुभयो । देशमा भएका उद्योगधन्दा बन्द गरेर दक्ष युवा जनशक्तिलाई विदेश पठाएर कुनै पनि हालतमा देश विकास नहुने उहाँको विचार छ। उहाँले मंसिर ४ मा भविष्य कोर्ने दिन भएको बताउनु भएको छ । चुनावी अभियानका क्रममा भरतपुर–२१ पार्वतीपुरमा आफ्नो धारणा राख्दै नेता पाण्डेले आफ्नो भविष्य आफैँले कोर्न सक्नुपर्ने बताउनु भएको हो ।
२०७४ सालमा आफूले निर्वाचन हार्दा चितवन–३ को विकास पाँच वर्ष पछि धकेलिएको उहाँको दाबी छ । भरतपुर–२५ शोसीमा भएको चुनावी सभामा नेता पाण्डेले भन्नुभयो, ‘पाँच वर्षभित्र धेरै हुन्थ्यो । तर, गणितीय संख्याले काम गर्न दिएन ।’
अब पनि विकासको लागि आफू तयार भएर आएकोले विकासवादी नेतालाई जिताइदिन उहाँले आग्रह गर्नुभयो । जनताको सानो समस्यामा पनि आफू कम्मर कसेर लागेकोले अबको नेतृत्व चुन्ने जिम्मा मतदाताकै हातमा रहेको उहाँको भनाइ छ ।
यस्तै अर्को कार्यक्रममा पाण्डेले चितवनका थारुबाट अन्य जिल्लाका थारुलाई पाठ सिकाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । चुनावी प्रचारप्रसारका क्रममा भरतपुर–२५ रातापुर पुगेका नेता पाण्डेले थारु समुदायको धर्म, संस्कृति संरक्षण र सम्बद्र्धनको लागि आफूले गर्नुपर्ने कुनै पनि काम बाँकी नराख्नेसमेत दाबी गर्नुभयो ।
‘पश्चिम चितवनको विकासमा कुनै कसर बाँकी राख्दिनँ,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि मलाई संसदमा पु¥याउने काम आम मतदाताको हो ।’ अघिल्लो पटक गणितीय हिसाबमा आफू पराजित भएपछि पश्चिम चितवनको विकास पनि पाँच वर्ष पछि धकेलिएको उहाँले बताउनुभयो । नेता पाण्डेले अबको समयमा तीव्र गतिमा विकास हुनको लागि सही नेतृत्व छान्न मतदातालाई आग्रह गर्नुभयो ।
देश विकास र समृद्धिको लागि यो निर्वाचनमा सक्षम नेतृत्व छानेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । चुनावी अभियानका क्रममा नेता पाण्डेले प्रचारप्रसारलाई तीव्र बनाइरहनु भएको छ ।























