चितवन विशेष
धान थन्काउने समय भएपनि जनतामाझ विश्वास लिएर जान्छौँ: डा भोजराज अधिकारी

चितवन, कात्तिक १९-
लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा उम्मेदवार बनेका नेताले जनताकामाझ विश्वास लिएर जाने बताएका छन् ।
आज यहाँ पत्रकारसँगको अन्तक्र्रियामा प्रतिबद्धतापत्र र जनताको विश्वासका आधारमा निर्वाचन जित्ने उहाँहरुले दाबी गर्नुभएको हो । नेकपा माओवादीका तर्फबाट चितवन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा भोजराज अधिकारीले किसानको धान थन्काउने समय भएकाले निर्वाचनमा माहोल बन्न कठिन भएको बताउनुभयो ।
निर्वाचनका लागि पार्टीको वडा तहबाट समेत कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँको भनाइ थियो । चितवन क्षेत्र नं ३ लोकतान्त्रिक वाम–गठबन्धनको राम्रो क्षेत्र भएकाले जीत सुनिश्चित भए पनि अझै मेहनत आवश्यक रहेको उहाँले बताउनुभयो । डा अधिकारीले भन्नुभयो, “राजनीतिक पाटीभित्र अनुशासन र जनताको विश्वासले निर्वाचत परिणाम आउनेछ ।”
गठबन्धनबाट प्रदेश ३ (१) का उम्मेदवार बन्नुभएका प्रा डा सूर्यकान्त घिमिरेले दलभित्रको अनुशासन नै मुख्य करिडोरका रुपमा रहेको बताउनुभयो । निर्वाचनमा मतदाता कता जान्छन् भन्ने कुरा सञ्चारमाध्यमका हातमा रहेकाले लोकतान्त्रिक वाम–गठबन्धनका पक्षमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
क्षेत्र नं ३ (२) का उम्मेदवार ठाकुर ढकालले देश रुपान्तरणका लागि वाम–गठबन्धन आवश्यक रहेको बताउनुभयो । जनताको हित र संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धनको जीत आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला नेताहरुले आम नेता कार्यकर्तामा पार्टीको अनुशासनभित्र रहन अपिलसमेत गरेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विषम परिस्थितिमा गठबन्धन बनेकाले यसलाई जोगाउनु कांग्रेस नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा पनि लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धन भएकाले गठबन्धनको मर्मभन्दा बाहिर गएर काम गर्न नसकिने उहाँको भनाइ छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले माओवादीभित्रका समस्या समाधान भइसकेकाले निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । पार्टीभित्रका नेता कार्यकर्ताबीचको एकताले निर्वाचनलाई अघि बढाउँदै गएको उहाँको भनाइ छ । रासस


























