चितवन विशेष
गठबन्धनका उमेदवारलाई धर्मचोकका स्थानीयले गरे सांकेतिक बहिस्कार

चितवन, कात्तिक १८–
भरतपुर महानगरपालिका–४ स्थित बैकुण्ठ चोक–धर्म चोक सडक खण्डमा लामो समयसम्म धुलोको सास्ती खेप्नु परेपछि स्थानीयहरु दलहरु प्रति रुष्ट बनेका छन् । सडक विस्तारको काम अलपत्र पर्दा पनि दलहरु मौन रहेको भन्दै स्थानीयले चुनाव प्रचारमा पुग्ने दलहरुलाई बहिस्कार गर्न थालेका छन् ।
दलहरुको मौनताका कारण स्थानीयले लामो समयसम्म धुलोको सास्ती व्यहोर्नु परेको भन्दै स्थानीय व्यवसायीले बिहीबार विरोध गरेका छन् । चुनाव प्रचारमा पुगेको सत्ता गठबन्धनका उमेदवारको विरोध स्वरुप स्थानीय व्यवसायीहरुले सटर बन्द गरेका छन् ।
चुनाव प्रचारका लागि चितवन २ का प्रतिनिधि सभा सदस्य उमेदवार उमेश श्रेष्ठ र चितवन २ (ख)का प्रदेश सभा सदस्य उमेदवार उत्तम जोशी कार्यकर्तासहित धर्मचोक पुगेका थिए । स्थानीयले सांकेतिक रुपमा विरोध गरेपछि केहि समय बोलेर अर्को ठाउँ गएका थिए ।
चुनावी प्रचारका लागि जुनसुकै पार्टीका उमेदवार धर्मचोक पुगे पनि सांकेतिक रुपमा विरोध स्वरुप सटर बन्द गरिने स्थानीय व्यवसायी भोज नारायण कँडेलले बताए । बैकुण्ठ चोकदेखि धर्मचोक सम्मको बाटो ठेकेदारले लामो समयसम्म अलपत्र पारेर छाड्दा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले स्थानीय आजित भएको उनले बताए ।
ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ ।


























