Breaking News
चितवनमा विप्लवका कार्यकर्तामाथि प्रहरीले बढायो निगरानी, सादा पोशाकमा प्रहरी परिचालन

चितवन, कात्तिक १७-
विप्लव लगायतका अन्य साना कम्युनिस्ट पार्टीहरूले निर्वाचन बिथोल्ने घोषणा गरेपछि चितवन प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन सुरु गरेको छ ।
चितवन प्रहरी प्रमुख नवराज अधिकारीले चितवनमा प्रहरीले सुरक्षा सतर्कता बढाइसकेको बताउनु भएको हो ।
प्रहरी प्रमुख अधिकारीले निर्वाचन विरोधी, कानुन विरोधी गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सादा पोशाकमा प्रहरी परिचालन गरेर नै निर्वाचन बिथोल्न खोज्नेहरुमाथि निगरानी बढाएका छौं ।’ उहाँले नागरिकहरु ढुक्क भएर निर्वाचनमा सहभागी हुने बाताबरण तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । चितवन जिल्ला पनि विप्लव नेतृत्वको माओवादी र अन्य साना बाम घटकहरुको प्रभाव क्षेत्र मानिँदै आएको छ ।
अन्य जिल्लामा धमाधम पक्राउ
निर्वाचन बिथोल्ने र निर्वाचनको सम्मुखमा आतंक फैलाउने विप्लव नेतृत्वको नेकपा तथा अन्य साना राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
तनहुँ प्रहरीले तनहुँको बन्दीपुर गाउँपालिका १ बानियाँटारबाट नेकपा माओवादीका संयोजक गौरव भन्ने अमृत सापकोटा, गण्डकी ब्यूरो इञ्चार्ज सागर लगायतलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट निर्वाचन बिथोल्ने पर्चा र बम बनाउन प्रयोग हुने बारुदलगायतका सामग्री बरामद भएको तनहुँ प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य विमल निरौला र वैद्यनिकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव महेश श्रेष्ठलाई पनि मोरङ प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले कात्तिक १६ गते मोरङको बेलबारीबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट निर्वाचन बिथोल्ने प्रचार सामग्री लगायतका वस्तुहरू बरामद भएको प्रहरीले जनाएको छ ।
फाइल फोटो























