चितवन विशेष

भरतपुरको गोलाघाटमा भोलिदेखि एकादशी मेला

Banner

चितवन, कात्तिक–१६-

भरतपुर महानगरपालिका–२८ को आयोजनामा गोलाघाटमा भोलीदेखि दुई दिने एकादशी मेला लाग्दै छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको गोलाघाटलाई देश विदेशसम्म परिचित गराउन कात्तिक १७ र १८ गते मेला आयोजना गरिएको हो । मेला नारायणी नदी र राप्तीखोलाको संगम स्थल नजिक हुने गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भिमसेन कुमालले जानकारी दिनुभयो ।
यहाँ भित्रने आन्तरिक पर्यटकलाई गोलाघाट धार्मिक स्थलको रुपमा समेत चिनाउने मेलाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । मेलामा राष्ट्रिय गायक– गायिका सपना गाहा मगर, मुक्ति सापकोटाको उपस्थिति रहने सचिव बुद्धि कँडेलले जानकारी दिनुभयो । अन्य राष्ट्रिय गायकहरुलाई समेत बोलाउने समितिमा छलफल चलिरहेको कँडेलले बताउनुभयो । स्थानीय कलाकारहरुले पनि प्रस्तुति रहने छ ।

मेलामा व्राम्हण समुदायको भजन–कीर्तन, दलित समुदायको पञ्चेबाजा, कुमाल समुदायको पाउदुरे, थारु समुदायको स्टिक नृत्य समेत मेलाको आकर्षण रहेको छ । एकादशी मेलाले गोलाघाटमा पर्यटन आगमन बढाउने आयोजकको विश्वास छ ।

यस मेला आयोजना गर्नको लागि वडा कार्यालयले दुई लाख बजेट छुट्टाएको छ । प्रत्यक वर्ष एकादशीको दिन गरिने यस मेला कोरोनाको कारणले भने केही वर्ष रोकिएको थियो । कार्यक्रममा वडाध्यक्ष डण्डपाणि न्यौपानेको प्रमुख आतिथ्यता रहने छ । मेलाको प्रचार–प्रसार उपसमितिको संयोजकमा हरि न्यौपाने रहनु भएको छ । मेलामा विभिन्न ६५ वटा स्टल रहने आयोजकको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जंगल र दुई नदीको संगम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्छन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवम् भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिंगे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको छ । मेलामा आउने पर्यटकले जीप सफारी गरी यी वन्यजन्तु देख्न र गोलाघाटको सुन्दरताको आन्नद उठाउन सक्नेछन् । दुइ दिनसम्म यहाँको मेला अबलोकन गर्न चाहानेले यहाँको थारु र कुमाल होमस्टेमा बास बस्न सक्छन् । साथै मेलामा यहाँको स्थानीय परिकार चिँचर, लोकल हाँस–कुखुरा, घुंगीलगायत परिकारको स्वाद लिन सक्ने आयोजकको विश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>