Breaking News
निर्वाचन आयोगले दलहरुलाई भन्योः मंसिर १९ गतेभित्र आमसभा र कोणसभाको खर्च बुझाउनु

काठमाडौँ, कात्तिक १६-
निर्वाचन आयोगले कोणसभा, आमसभाको खर्च मंसिर १९ गतेभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउने र उम्मेदवारले त्यस्ता सभाका खर्च मंसिर १९ गतेभित्र आयोगमा बुझाउनुपर्ने बताउनुभयो ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गतिविधि गर्न आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ । आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आयोगले आवश्यक प्रबन्ध मिलाएको थपलियाले बताउनुभयो ।
निर्वाचन आयोगले उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउने भएको छ ।
कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । ‘निर्वाचन आयोगले उम्मेदवारको चुनावी खर्चलाई अब दर्ता भएका लेखापरीक्षकबाट परीक्षण गराउने छ । हामीले तोकेको सीमा अनुसार उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन्,’ थपलियाले भन्नुभयो ।























