देश/प्रदेश

चुनावपछि कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री: प्रवक्ता महत

Banner

 

काठमाडौँ, कात्तिक १६-

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताउनु भएको छ । उहाँले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताउनुभयो ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचार–प्रसार समितिका संयोजकसमेत रहनुभएका डा. महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गर्नुभयो ।

नेकपाकालिन सरकारमा नागरिकले धेरै दुःख पाएको भन्दै उहाँले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

एमालेको घोषणापत्रमा पाँच वर्ष अगाडिकै योजना भएको भन्दै महतले घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउने भन्दा नयाँ केही नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘५ वर्षअघि समेटिएका पानी जहाज, पाइप लाइन ग्यास र रेलजस्ता कुराहरु कार्यान्वयनभन्दा पनि फगतमात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ ।’

एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रणलगायत काम गरेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ नि ? एमालेले सञ्चालन गर्ने र कांग्रेसले ल्याउने भनेको रेल एउटै हो कि फरक ? भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता डा. महतले भन्नुभयो, ‘हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन । हामी ऋण काढेर रेलमा लगानी गर्नै पक्षमा छैनौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>