देश/प्रदेश
जीवन धान्न नौ महिना चौँरी खर्कको बास

चौतारा, कात्तिक १६–
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौँरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन् ।
हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गरेका छन् । यो समयमा उनको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ । पुस्तौँदेखि चौँरीपालन व्यवसाय गर्दै आएका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो ।
चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए । “पढेको छैन, अरु सीप पनि छैन”, शेर्पा भन्छन्, “परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।”
वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ”, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्छन्, “चौँरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ”, बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उनी बताउँछन् ।
खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् ।
छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर रु दुई लाखसम्म आम्दानी हुने बताउँछन् । “आफैँ बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ”, शेर्पा भन्छन्, “दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।” शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।
बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उनी चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सकेका छैनन् ।

























