Breaking News

काँग्रेस चितवनले भन्योः कृष्णलाल सापकोटा र विकास कोइराला काँग्रेसका पूर्व सभापति होइनन्

Banner

चितवन,कात्तिक १५-

चितवनका नेता कृष्णलाल सापकोटा र विकास कोइराला काँग्रेसका पूर्व सभापति नरहेको भन्दै काँग्रेस चितवनले विज्ञप्ती जारी गरेको छ । आज पार्टीका जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै सापकोटा र कोइराला काँग्रेसको पूर्व सभापति नरहेको जनाएका हुन् ।

विज्ञप्तीमा पार्टीको रेकर्डमा कृष्णलाल सापकोटा र विकास कोइराला पूर्व सभापति नरहेको उल्लेख गरिएको छ । निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापतिहरुमा नारायण शर्मा पौडेल, टिकाराम न्यौपाने, टेकप्रसाद गुरुङ, शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, तोपमान सिंह गुरुङ र पृथ्वीमान गुरुङ मात्रै पार्टीको अभिलेखमा रहेको विज्ञप्तीमा जनाइएको छ । पार्टीले कारवाही गरेका काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले पूर्व सभापतिको हैसियतमा भोलि (बुधवार) चियापान कार्यक्रम आयोजना गरेपछि काँग्रेस चितवनले यस्तो विज्ञप्ती जारी गरेको हो । विभिन्न चाडपर्वको अवसरमा भन्दै कोइरालाले शुभकामना आदानप्रदानको आयोजना गरेपछि यसले चितवन काँग्रेसमा तरङ्ग पैदा गरेको छ । २०७० सालमा चितवनको क्षेत्र नम्बर ४ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उठेपछि पार्टीले उनलाई कारबाही गरेको थियो ।

कोइरालाले पूर्व जिल्ला सभापतिको हैसियतमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि सार्वजनिक रूपमा निमन्त्रणा गरेपछि नेपाली काँग्रेस चितवनले उनि पूर्व जिल्ला सभापति नभएको भन्दै विज्ञप्ती निकालेको हो । पार्टी संगठन र आसन्न निर्वाचनलाई नकारात्मक प्रभाव पर्ने भएकाले औपचारिक रूपमा त्यस्ता कार्यक्रम नगर्न विज्ञप्तिमार्फत् निर्देशन समेत गरिएको छ ।

“नेपाली काँग्रेस अन्तर्गत जिल्लाबाट विगतमा विभिन्न पदमा रहेर क्रियाशील (सभापति, केन्द्रीय सदस्य तथा अन्य कुनै महत्वपूर्ण पदमा) तर हाल नेपाली काँग्रेसको विधान अनुसार पार्टी संरचनामा नरहनुभएका विभिन्न ब्यक्तिहरूबाट भेटघाट, चियापान जस्ता कार्यक्रमको आयोजना गरिएको भनि सामाजिक सञ्जालबाट सूचना आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ । यस्ता गतिविधिले पार्टी संगठन र आसन्न निर्वाचनलाई समेत नकारात्मक प्रभाव पर्ने भएकाले औपचारिक रूपमा यस किसिमका कार्यक्रमहरू नगर्न/नगराउनका लागि नेपाली काँग्रेस चितवन सम्बनधीत पक्षहरुसंग यस विज्ञप्ती मार्फत निर्देशन गर्दछ भनिएको छ ।

जिल्ला सभापति खनालको विज्ञप्तीलाई काँग्रेस चितवनका कार्यकर्ताले कडा आलोचना गरेका छन् । कार्यकर्ताले काँग्रेस चितवनको इतिहास मेटाउने काम भएको प्रतिकृया दिएका छन् । कोइरालासंगै कृष्णलाल सापकोटाको नाम पनि पूर्व सभापतिको सूचिबाट हटाइएको छ । गत स्थानिय निर्वाचनमा पार्टीले गरेको गठबन्धनको उम्मेदवार विरुद्ध बागी उठेका जगन्नाथ पौडेलको समर्थक बसेका सापकोटालाई काँग्रेसले कारवाही गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>