Breaking News
सीके राउतको जनमत पार्टीको घोषणापत्रमा के छ ?

काठमाडौं, कात्तिक १५–
आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि मधेसबाट राजनीतिक यात्रा सुरु गरेको डा.सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।
आज (मंगलबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरेको हो ।
आमनिर्वाचनमा पहिलो पटक पार्टी सहभागी हुने जनाइएको हो । पार्टीको चुनाव चिन्ह्र होरन (लाउडस्पिकर) रहेको छ । पार्टीले प्रत्यक्ष कार्यकारी हुने नीति अपनाएको समेत पनि जनाइएको छ ।
भ्रष्टाचार निर्मूलीकरण, सुशासन र सेवा–प्रवाह जनभावना अनुरुप बनाउने मुख्य उद्देश्यसहित जनमत पार्टी चुनावमा सहभागी हुने जारी घोषणापत्रमा उल्लेख गरिएको छ । भ्रष्टाचारको अन्त्य, राइट टु रिकल, राइट टु रिजेक्ट सहितको एजेण्डा लिएर सूचनाको हक अधिकार प्रभावकारी ढंगले संस्थागत गर्ने पार्टीले प्रतिबद्धता गरेको छ ।
त्यस्तै, कक्षा १२ सम्म निःशुल्क शिक्षा, युनिभर्सल हेल्थ केयर, एकीकृत सामाजिक सुरक्षा, योग्य जनशक्ति उत्पादन गरी समाजवादसहित लोक कल्याणकारी राज्यको स्थापना गर्ने मुख्य लक्ष्य लिएको घोषणापत्रमा उल्लेख छ । साथै, पार्टीले नागरिकता समस्याको स्थायी समाधान गर्ने, अनिवार्य दुई वर्ष स्वयंसेवक तालिम दिने प्रतिबद्धता समेत गरेको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार विक्रम बमले देश कहाली लाग्दो परिस्थितिमा गुज्रिएको बताउनु भएको छ । देशको अवस्था सुधार्नकै लागि जनमत पार्टीको उदय भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो,‘जनमत पार्टी वर्तमान अवस्थाको उपज हो ।’
राजनीतिक दल र पार्टी आफैमा नराम्रो नहुने तर मुलुक सञ्चालन गर्नेले सही तरिकाले गर्न नसकेको कारण सिके राउतको उदय भएको उहाँले बताउनुभयो । हिमाल, पहाड र तराईलाई एकता गर्ने पार्टीको पहिलो लक्ष्य भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले सुशासन मुलुकको आवश्यकता रहेको भन्दै सिके राउत देशमा लुकेको हिरा भएको समेत दाबी गर्नुभयो ।
देशमा भ्रष्टाचारको अन्त्य नभएमा मुलुकको विकास नहुने उहाँको भनाइ थियो । उहाँले आफ्नो पार्टीले भ्रष्टाचारको अन्त्यका लागि प्रदेश–२ मा भ्रष्टाचारीलाई कारबाहीको सुरुवात गरेको बताउनुभयो । उहाँले अध्यक्ष सिके राउतलाई सरकारले षड्यन्त्र गरे सत्ता उल्टाउने धम्की दिनुभयो । उहाँले भन्नुभयो,‘सिके राउतविरुद्ध राज्यले अझै कुनै पनि षड्यन्त्र गर्छ भने राज्यसत्ता ६ महिनामा उल्टाएर सडकमा ल्याउने चेतावनी दिन्छौ ।’ जनमत पार्टीले सिके राउतजस्ता हजारौं असल व्यक्ति जन्माएर देशमा भएको भ्रष्टाचारको अन्त्य गर्न खोजेको उहाँले बताउनुभयो ।























