चितवन विशेष
भरतपुरको गोलाघाटमा एकादशी मेला, राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चितवन, कात्तिक–१४
भरतपुर महानगरपालिका–२८ को आयोजनामा गोलाघाटमा दुई दिने एकादशी मेला लाग्दै छ ।
पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको गोलाघाटलाई देश विदेशसम्म परिचित गराउन कात्तिक १७ र १८ गते मेला आयोजना गरिएको हो ।
मेला नारायणी नदी र राप्ती खोलाको संगम स्थल नजिक हुने गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भिमसेन कुमालले जानकारी दिनुभयो ।
यहाँ भित्रने आन्तरिक पर्यटकलाई गोलाघाट धार्मिक स्थलको रुपमा समेत चिनाउने मेलाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । मेलामा राष्ट्रिय गायक– गायिका सपना गाहामगर, मुक्ति सापकोटाको उपस्थिति रहने सचिव बुद्धि कँडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । अन्य राष्ट्रिय गायकहरुलाई समेत बोलाउने समितिमा छलफल चलिरहेको कँडेलले बताउनुभयो । मेलामा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।
मेलामा ब्राहमण समुदायको भजन–कीर्तन, दलित समुदायको पञ्चेबाजा, कुमाल समुदायको पाउदुरे, थारु समुदायको स्टिक नृत्य समेत मेलाको आकर्षण रहेको छ । एकादशी मेलाले गोलाघाटमा पर्यटन आगमन बढाउने आयोजकको विश्वास छ ।
यस मेलाआयोजना गर्नको लागि वडा कार्यालयले दुई लाख बजेट छुट्टाएको छ । प्रत्यक वर्ष एकादशीको दिन गरिने यस मेला कोरोनाको कारणले भने केही वर्ष रोकिएको थियो । मेलाको प्रचार–प्रसार उपसमितिको संयोजकमा हरि न्यौपाने रहनु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको गोलाघाटमा विशेष गरेर वाइल्डलाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जंगल र दुई नदीको संगमभएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्ती खोला मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्छन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवम् भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिंगे गैँडा, मृग, चित्तल, गोहीयहाँको आकर्षणको केन्द्रबिन्दु रहेको छ । मेलामा आउने पर्यटकले जिप सफारी गरी वन्यजन्तु देख्न र गोलाघाटको सुन्दरताको आन्नद उठाउन सक्नेछन् । दुई दिनसम्म यहाँको मेला अवलोकन गर्न चाहानेले यहाँको थारु र कुमाल होमस्टेमाबास बस्न सक्ने मेला आयोजकले जनाएका छन् । साथै मेलामा यहाँको स्थानीय परिकार चिँचर, स्थानीय हाँस–कुखुरा, घुंगीलगायत परिकारको स्वाद लिन सक्नेछन् ।























