देश/प्रदेश
उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

काठमाडौं, कात्तिक १४–
प्रातःकालको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व आज समापन गरिँदैछ। कार्तिक शुक्ल षष्ठी तिथिको साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालुले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्।
मिथिलाञ्चल क्षेत्रको विशिष्ट पर्व छठको व्रतविधि कार्तिक शुक्ल चतुर्थीमा शुरु हुन्छ र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुन्छ। कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतालुले यो व्रत सुरु गर्छन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्छन्।
षष्ठीमा व्रतालुले दिनभर निराहार व्रत गर्छन्। साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। षष्ठीका दिन निराहार व्रत गरी बेलुकी अस्ताउँदो र सप्तमीको बिहान सूर्यको पूजा–आराधना गरी अर्घ्य दिँदा दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ।
छठको अन्तिम दिन आज मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ। संघ सरकारले आइतबार मात्र विदा दिएको थियो। प्रदेश सरकारले भने ‘पारन दिन’ समेत विदा दिने निर्णय गरेको हो।

























