Breaking News
भोट माग्न पश्चिम चितवनको मेघौलीका खेतखेतमा डुल्दै दुई डाक्टर

चितवन, कात्तिक १३-
चितवनको चुनाव हरेक पाँच वर्षमा रोचक हुने गर्छ । विगतमा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड लडेर देशकै ध्यान तानिएको चितवनको निर्वाचन यस वर्ष पनि थप रोचक बन्दै गएको छ । प्रचण्डले चितवन छाडेर गए पनि निर्वाचनको रौनक भने कायमै देखिन्छ । टेलिभिजन पत्रकार रवि लामिछानेदेखि, पूर्वअर्थमन्त्री, अर्थशास्त्री, कृषि डाक्टरदेखि मेडिकल डाक्टरसम्म चुनावी प्रतिस्पर्धामा छन् ।
चितवन क्षेत्र नम्बर ३ मा वरिष्ठ फिजिसिएन डाक्टर भोजराज अधिकारी र कृषि विश्वविद्यालयका पूर्वरजिस्टार कृषि विज्ञ डा सूर्यकान्त घिमिरेसँगसँगै नागरिकसँग भोट माग्न व्यस्त हुनुहुन्छ । उहाँहरु स्वास्थ्य क्षेत्रमा देखिएका समसया समाधान गर्ने देखि कृषि क्षेत्रमा क्रान्ति ल्याउने आश्वासन बोकेर किसानका खेतखेतमा पुग्नुभएको छ । अधिकारी प्रतिनिधिसभाको लागि भोट माग्दै हुनुहुन्छ भने घिमिरे प्रदेशसभाका लागि सँगसँगै भोट माग्दै गरेको भेटिन्छ । खेतमा धान धन्क्याउन लागेका किसानसँग भूइँमा नै बसेर उहाँहरु चुनावी प्रसारप्रसार गरिरहनु भएको छ ।


प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनबाट माओवादी केन्द्रका उमेदवार डा. भोजराज अधिकारी र प्रदेश ३ (क) का कांग्रेसका उमेदवार डा. सूर्यकान्त घिमिरे मेघौंलीका जनताको घरदैलोमा पुग्नु भएको हो । त्यस अवधिमा भरतपुर २७ र २८ का जनसमुदायले यहाँको समस्याका बारेमा उमेदवारलाई जनाएका थिए । भरतपुर २८ का थारू समुदायसँगको कुराकानीमा नारायणी र राप्ती नदीको प्रभाव, जंगली जनावरको आतंक नियन्त्रण, जितपुर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रको थप विस्तार, थारू कल्चर भवन पुनर्निर्माणमा जोड दिएका थिए ।
स्थानीय शनिचर महतोले थारू जनताको अहिलेको समस्या सम्बोधन गर्न आग्रह गर्नुभयो । यहाँको ढल व्यवस्थापनदेखि जनताको आयआर्जनका लागि योजना बनाउन उहाँले सुझाव दिनुभयो । यस्तै भरतपुर–२८ का हरि न्यौपानेले सदरमुकाम क्षेत्रबाट टाढा नबनाउन अनुरोध गर्नुभयो । उहाँले गोलाघाट पुल निर्माणका लागि पहल गरिदिन माग गर्नुभएको छ । जनताको माग सम्बोधनका लागि आफू प्रतिबद्व रहेको डा. अधिकारीले बताउनुभयो ।
शिवघाट, गाँजीपुर सिसै, भगडी, बलुवा, पिपरा, दद्रेनी, सिसाबास हुदै गोलाघाटसम्म तटबन्ध आयोजनाले यहाँका जनता लाभान्वित हुने डा. भोजराजले बताउनुभयो । गठबन्धनकै जोडबलमा आयोजना आएकाले कार्यान्वयन गर्ने जिम्मेवारी आफूले लिने उहाँको भनाइ छ ।थारू समुदायमा हुने सिकल सेल एनिमियाको प्रकोप नियन्त्रणमा पहल लिने डा. अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै जनतासँग भेटघाटमा गठबन्धनका क्षेत्र ३ (क) उम्मेदवार डा. सूर्यकान्त घिमिरेले कृषिको विकासका लागि वैज्ञानिकीकरण र यान्त्रिककरण गर्न नीति निर्माण गर्ने बताउनुभयो । केही कानुनी अप्ठ्यारोलाई हटाउने र जंगली जनावरको आतंक नियन्त्रणका लागि सहयोग गर्ने दुवै डाक्टर उम्मेदवारले बताउनु भएको छ । यहाँको क्षेत्रलाई कृषि र पर्यटनको हव बनाईने उहाँहरुको उद्घोष छ । पटकपटक भोट दिँदा पनि कसैले केही गरेन भन्ने मतदाताको निराशालाई आशामा बदल्न भने उम्मेदवारहरुलाई त्यती सजिलो छैन ।
























