गण्डकी

जनतामा भ्रम फैलिएका कारण मैले चुनाव हारेको हुँ,यसपटक जनताले मूल्याङ्कन गर्छनः रामचन्द्र पौडेल

Banner

तनहुँ,कात्तिक १२-

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताउनुभयो ।

“गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, कांग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन”, पौडेलले भन्नुभयो, “विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।” गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो । “अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको छ, कांग्रेसको नेतृत्वमा विकास सम्भव छ”, पौडेलले भन्नुभयो । मङ्सिर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । तिहार अगाडि एक चरणको घरदैलो सक्नुभएका पौडेलले शुक्रबार मात्रै पुनः गृह जिल्ला आएर घरदैलोलाई निरन्तरता दिनुभएको छ । पौडेलले शुक्रबार व्यास नगरपालिका–३ शान्तिनगरमा घरदैलो गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>