चितवन विशेष
एमालेले हारे देश हार्छ, राष्ट्रियता बचाउन एमाले जिताउनपर्छः देवी ज्ञवाली

चितवन,कात्तिक १२-
नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन क्षेत्र नं. २ (ख)का उम्मेदवार देवी ज्ञवालीले आगामी निर्वाचनमा एमालेले हारेमा देश हार्ने भएकोले राष्ट्रियता बचाउन र देशको विकास गर्न एमालेलाई जिताउनुपर्ने बताएका छन् । अनेरास्ववियु क्षेत्र नं. २ स्तरीय विद्यार्थी भेलालाई सम्वोधन गर्दै एमाले चितवन जिल्ला इन्चार्जसमेत रहेका ज्ञवालीले आगामी निर्वाचन देश बचाउने र देश बिगार्नेहरुका बीचको युद्ध भएकाले दृढतापूर्वक जनतालाई देश बचाउने अभियानमा लाग्न युवा विद्यार्थीहरुले उत्प्रेरित गर्नुपर्ने बताए । परमादेशी गठवन्धन सरकार बनेको दुई बर्षमा मंहगी बढाउने, अत्याचार थोपर्ने बाहेक कुनै पनि काम गर्न नसकेको भन्दैं नेता ज्ञवालीले एमाले सरकारले गरेका विकास निर्माणका काममा भाँजो हाल्ने, बजेट काट्ने काम देउवा सरकराले गरेको आरोप लगाए । एमालेसँग देश बनाउने सुस्पष्ट भिजन रहेको भन्दैं नेता ज्ञवालीले एमालेलाई मतदान नगर्दा देशको राष्ट्रियता कमजोर हुने र विकास आयोजनाहरु ठप्प हुने बताए ।
सोही कार्यक्रममा बोल्दै एमाले चितवन क्षेत्र नं.२ का उम्मेदवार कृष्णभक्त पोखरेलले एमालेका नेता कार्यकर्ता जनताको घरघरमा चुनावी अभियान लिएर जानुपर्ने बताए । अब हामीसँग समय छैन, अनेक थरी अनेक नानाभाती कुरा गरेर जनतालाई भ्रमित पार्न लागेका छन् त्यसलाई सच्चाउन युवा विद्यार्थीहरु चुनावी मैदानमा होमिनुपर्छु उम्मेदवार पोखरेलले भने, हरेक विहान र साँझ टोलटोलमा एमालेका नेता कार्यकर्ता जनताको घरघरमा पुग्नुपर्छ । उनले एमालेलाई कमजोर बनाएर राष्ट्रलाई कमजोर पार्न देशी विदेशी शक्ति लागेकोले त्यसलाई परास्त गर्नुपर्ने बताए । एमाले हुँदा मात्रै देशका विकास, सम्वृद्धि र राष्ट्रियताको सम्बद्र्धन हुने स्पष्ट देखिएकोले जनतालाई एमालेका पक्षमा उभिन नेता पोखरेलले अपिल गरे ।


























