Breaking News

चितवनमा दिनेश कोइराला विद्रोहको राजनीतिक अर्थ

Banner

–रमेश बस्ताकोेटी

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले देशको राजनीतिक माहोल तातिरहेको बेला उम्मेदवारहरुबारे पनि चर्चा हुन थालेको छ । तीमध्ये चितवन ३ बाट माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइरालाको चर्चा पनि देशव्यापी छ । दिनेश कोइरालाले जित्लान् या हालार्न त्यो समयले भन्ने नै छ ,तर दिनेशको चर्चा हुनुको पछाडि खास गरी तीनवटा कुरा महत्वपूर्ण छन् । एक त दिनेशले कांग्रेसको केन्द्रीय सदस्य पद जुन उनले निकै कडा संघर्ष र मेहनतपछि प्राप्त गरेका थिए र बाँकी राजनीतिक भविष्यलाई समेत जोखिममा राखेर आफ्नै पार्टीसँग विद्रोह गरेका छन् । अर्को उनलाई नेकपा एमालेले आफ्नो उम्मेदवार पछि हटाएर समर्थन गरेको छ । तेस्रो २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनलाई भरतपुर महनगरको मेयर पदमा टिकट दिएर पनि खोसेको थियो । दिनेश देशव्यापी रुपमा नेटवर्क भएका युवा नेता हुन् । जे होस् दिनेशले यो पटक विद्रोह गरेका छन् । दिनेशको विद्रोहका पछाडि धेरै कारणहरु छन् । पार्टी संगठनमा पार्टीको निर्देशन नमान्नेलाई कारबाही गरेर संगठनबाट नै निकालिन्छ । सोही अनुरुप दिनेश पनि कारबाहीमा परेका छन् । उनको केन्द्रीय सदस्य पद पनि खोसिएको छ । यस्ता जोखिम मोलेर दिनेशले किन विद्रोहको बाटो रोजे होलान् त ? यस बारेमा यस लेख मार्फत् केही चर्चा गर्ने प्रयास गरेको छु ।

कांग्रेसीहरुमा देखिएको वितृष्णा

दिनेश कोइरालाले विद्रोह गर्नुको पछाडि चितवनमा कांग्रेसीहरुमा देखिएको वितृष्णा प्रमुख कारण हुन सक्छ । ७० साल पछि कांग्रेसीहरुले कुनै पनि चुनावमा आफ्नो निर्वाचन चिन्ह रुखमा भोट हाल्ने वातावरण बनेन । तालमेल र गठबन्धनको नाममा कहिले माओवादीको हँसिया हथौडा त कहिले राप्रपाको हलोमा भोट हाल्नुपर्ने बाध्यात्मक परिवेश बन्यो । चितवन नेपाली कांग्रेसका लागि निकै उर्वर भूमि हो । यहाँ नेपाली कांग्रेसको स्थापनाकालदेखि कांग्रेसमा लागेर निकै संघर्ष गरेका नेता र तिनका परिवार छन् । कांग्रेसका नाममा कयौ सहिद पनि भएका छन् । तर, आफ्नो निर्वाचन चिन्हमा भोट हाल्न नपाउने र सधै अर्को पार्टीको उम्मेदवार बोकेर हिड्नु पर्ने परिवेश बनेपछि यहाँका कांग्रेसीहरुमा एक प्रकारको वितृष्णा पैदा भएको कुरालाई लुकाएर लुक्ने विषय हैन । सायद दिनेशले यिनै कुरालाई निकै नजिकबाट बुझे र केही ठेकेदार कांग्रेसी नेताहरु बाहेक आम कांग्रेसीका भावनाको कदर गर्न पनि दिनेशले विद्रोहको बाटो रोजेका हुन् । दिनेशले भन्छन्, ‘कांग्रेसको संगठन भजाएर खान पल्केका केही धुर्त कांग्रेसीहरु बाहेक इमान्दार कांग्रेसीहरुको भावनाअनुसार उम्मेदवार बनेको हूँ । उनीहको पार्टी संगठन प्रतिको मायालाई मैले बुझेको छु । उनीहरुको सल्लाहबमोजिमनै उम्मेदवार बनेको हूँ ।’

सत्तासँग संगठनको सौदा

पार्टीको केन्द्रीय नेतृत्वले जहिले पनि चितवनमा सत्तासँग संगठनको सौदा गरिरह्यो । कांग्रेसको १३ औं महाधिवेशनपछि सभापति निर्वाचित भएर शक्तिमा शेरबहादुर देउवा आएपछि भएको २०७४ को स्थानीय चुनावमा दिनेशलाई भरतपुर महानगरको टिकट दिइयो, तर पछि सत्तामोहका कारण उनले मनोनयन गरिसकेपछि उनलाई उम्मेदवारी फिर्ता गर्न भनियो । तर दिनेशले मानेनन् , उनको टिकट देउवाले काठमाडौंमानै बसेर खोसिदिए । सत्तासँग संगठनको सौदा गर्न खप्पिस देउवाको यो कदमको सर्वत्र आलोचना भयो तर पनि सत्ता र शक्तिको अनुभवी खेलाडी शेरबहादुरको शक्तिको उन्मादका अगाडि कसैको केही लागेन । उनले कहिले रेनु दाहाल , कहिले पुष्पकमल दाहाल र कहिले राप्रापाका विक्रम पाण्डेलाई भोट हाल्न उर्दी गरिरहे । सत्तासँग संगठनको सौदा गर्ने यही कुराको अन्त्यका लागि दिनेशले विद्रोह गरेका हुन् । दिनेशको विद्रोह चितवनका लागि मात्र हैन , देशभर जहाँ सत्ता र शक्तिसँग संगठनको सौदा गरिएको त्यो ठाउँको लागि पनि हो । उनले एक भेटका क्रममा यो पंक्तिकारसँग भनेका थिए ,‘ सत्ता टिकाउनका लागि कांग्रेसलाई माओवादीको भातृ संस्था बनाउने प्रयास भयो , जिल्लाका निकै पुराना नेताहरुलाई कारबाही गरेर उनीहरुको बली चढाउने काम गरियो , एउटा इमान्दार कांग्रेसले यी सबै कुरा टुलुटुलु हेरेर बस्न सक्दैन, त्यस कारण पनि मैले विद्रोह गर्न आवश्यक थियो । विद्रोहको सुरुवात मैले गरेको छु , अब निर्वाचनबाट यसको परिणम दिने बेला आएको छ ।’

चितवन कांग्रेसको अध्यारो भविष्य

दिनेश कोइरालाले विद्रोह गर्नुको पछाडि चितवन कांग्रेसको अनिश्चित र अध्यारो भविष्य पनि एक हो । चितवनमा निरन्तर माओवादी कांग्रेस माथि हाबी हुँदै जाने स्थिति बन्यो । यो आमनिर्वाचनको सम्मुखसम्म आइपुग्दा त कांग्रेसका उम्मेदवार समेतको बन्ने नबन्ने कुुरा को टुंगोे खुमलटारबाट लाग्ने परिवेश बन्यो । शेरबहादुर कहाँ भन्दा प्रचण्ड कहाँ पुगियो भने आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने हुन थाल्यो । सधै माओवादीलाई नै भोट हाल्न पर्ने भएपछि कांग्रेस भएर किन बस्ने बरु माओवादीमा नै प्रवेश गरेर भविष्य खोज्नु पर्छ भन्ने नेता कार्यकर्ताको मनोविज्ञान हुन थाल्यो । यसले गर्दा चितवनमा कांग्रेसको भविष्य निकै अध्यारो देखिन थालेपछि केही कांग्रेसीहरुलाई यसले चिन्तित बनाउन थाल्यो , कोइराला तिनै मध्येका एक हुन् । जसले विद्रोहको बाटो रोजेर भए पनि चितवनमा कांग्रेस जोगाउन पर्छ भन्नेमा लागे । उनले अहिले गरेको विद्रोहले कांग्रेसका अरु कार्यकर्ताहरुमा पनि उत्साह छाएको पाइन्छ । दिनेशले भनेका छन् , ‘ लोकतन्त्र दाहाल र देउवा परिवारका लागि मात्र होइन,अंशवाद,वंशवाद र धनवादको राजनीतिलाई चिर्न जरुरी छ । यसका लागि हामीले क्रान्ति गर्नेपर्छ , चितवनमा कांग्रेस जोगाउने भने अब अरु विकल्प छैन, नेतृत्वको खराब निर्णयका विरुद्ध लड्नै पर्छ ।’

प्रचण्डले छाडेपछि स्वभाविक कांग्रेस

दिनेशले आफँैलाई टिकट मागेका थिएनन् । उनले प्रचण्डले छाडेपछि चितवन ३ मा कांग्रेसको उम्मेदवार हुनुपर्छ भन्ने माग गरेका थिए । तर, प्रचण्ड र देउवाले त्यसो गर्न चाहेनन् , माओवादीलाई सो स्थानमा टिकट दिने निर्णय गरे । यसले गर्दा दिनेश कोइरालामा विद्रोह गर्ने आँट अझै बढेर आयो । उनले पार्टीका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा लगायतका नेताहरुको कारबाही फुकुवा, समानुपातिकमा पश्चिम चितवनबाट एकजना सहिद परिवारलाई राख्नुपर्ने लगायतको माग गरेका थिए । तर, बालुवाटारले त्यो कुरो सुन्नै चाहेन, लोकतान्त्रिक पार्टीको नेतृत्वले कार्यकर्ताको कुरो सुन्नै नचाहने त्यसमा छलफल गर्न पनि तयार नभएपछि दिनेशहरु विद्रोहको बाटोमा लागेका हुन् । ‘पैसावाललाई टिकट बाड्न, चुनाव आएपछि आयआर्जनमा लाग्ने, आफ्नो गुटकालाई भन्दा अरुलाई देख्नै नसक्ने भएपछि कसरी इमान्दार मान्छेले राजनीति गर्ने ? दिनेशले पंक्तिकारसँग आक्रोश पोखे ।

जोखिमको बाटो किन रोजे दिनेशले

‘मैले आफ्नो लागि मात्र हेरेको भए धेरै कुरा प्राप्त गर्न सक्थे, राम्रा अफर आएका थिए । तर, मैले आफ्नो भविष्यभन्दा पनि देश र जनताको भविष्य हेर्ने हो । त्यसका लागि मेरो विद्रोह हो । त्यस कारण यो जोखिम उठाएको हूँ ’ दिनेश भन्छन् । उनलाई कांग्रेसले गठबन्धन गर्न हुँदैनथ्यो भन्ने लाग्छ , दिनेश गठबन्धन टुटाउनका लागि पनि ठाउँ ठाउँमा इमान्दार कांग्रेसहरुले विद्रोह गर्न आवश्यक परेको हो । ’ उनले भने,‘चितवनबाट बेथिति बिरुद्ध क्रान्ति सुरुवात भएको छ , यो शान्तिपूर्ण हुन्छ , रक्तपात विहिन हुन्छ ।’ प्रचण्डबाट कांग्रेसलाई जोगाउनका पनि विद्रोह आवश्यक थियो । त्यसकारण जोखिम मोलेर भए पनि विद्रोह गरिएको हो ।’

दिनेशलाई नेकपा एमालले समर्थन गरेको छ । एमालेले समर्थन गरेपछि धेरैले उनलाई एमाले प्रवेश गर्न लाग्यो भनेर हल्ला पनि पिटे । तर उनले आफू कांग्रेस भित्रनै रहेर बेथिति बिरुद्ध लड्ने र बोल्ने बताए । ‘एमाले र मेरो पोलिटिकल इन्ट्रेष्ट मिलेको छ , एमालेलाई पनि गठबन्धन हराउन परेको छ , मलाई पनि , त्यसकारण चितवनमा प्रचण्डको गृहनगरमा जसरी पनि गठबन्धन हराउन्ु दुवैको एजेण्डा भएका कारण एमालेले मलाई समर्थन गरेको हो ।’

राजनीतिमा निरन्तर सक्रिय दिनेश

नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका दिनेशको पनि पार्टी संगठनमा लामो योगदान छ , उनी एकैपटक टुप्पोबाट पलाएका नेता होइनन् । कांग्रेसको भातृ संस्था नेविसंघदेखि निरन्तर काम गर्दै यो उचाइमा पुगेका हुन् । विसं २०५० सालमा नै दिनेश नेविसंघ बालकुमारी कलेजको अध्यक्ष बनेका थिए । पछि उनी ५३ सालमा सोही कलेजको स्ववियु सभापति बने । विसं २०५६ देखि विसं २०५८ सम्म नेविसंघको केन्द्रीय सदस्य बने । पार्टीका नवांै महाधिवेशनपछि उनी तीन पटक कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका छन् । दिनेश पटक पटक जिल्ला समिति र क्षेत्रीय समितिमा रहेर काम गरेका नेता हुन् । देशव्यापी नेटवर्क भएको नेपाल जेसीजको सन् २००८ मा राष्ट्रिय अध्यक्ष भएर दिनेशले अव्बल नेतृत्व क्षमता प्रस्तुत गरिसकेका छन् ।

(नवलपुरमा केन्द्रित भएर काम गर्दै आएका पत्रकार रमेश बस्ताकोटीले कोइरालासँग गरेको कुराकानीमा आधारित)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>