Breaking News

नारायणगढ–बुटवल सडक निर्माणमा ठेकेदारको चरम लापरवाही, तिहारमा यात्रुलाई सास्ती

Banner

चितवन, कात्तिक ७-

तिहारको अवसरमा नारायणगढ–बुटवल सडकमा यात्रा गर्ने यात्रुले निकै सास्ती पाएका छन् ।

सामान्य अवस्थामा भरतपुरबाट मध्यबिन्दु जान एक घण्टा १५ मिनेट लाग्ने सडकमा अहिले तीन घण्टासम्म लाग्ने गरेको छ । यो सडकमा तिहार मनाउन घर हिडेका यात्रुहरु धूलो र खाल्डाखुल्डीले समस्यामा परेका छन् ।

सडक विभागले बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने चतावनी दिँदै तोकेको समय सीमा शनिबार सकियो । तर, यो अवधिमा पनि नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा कुनै सुधार भएन । कामको सिलसिलामा भरतपुरमा बस्नुभएका टेकराज पाखरेल यसपटक सडककै कारणले तिहार मान्न घर जाने वा नजाने भनेर दोधारमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सडकको दूराअवस्था सम्झँदा घर जान नै मन लाग्दैन । बन्ने कहिले हो ठेगान नै छैन ।’

अहिले पनि सडकको हालत खराब छ, सडकखण्ड हुँदै यात्रा गर्नेहरुले धुलो र हिलोको चरम सास्ती व्यहोर्नु परिरहेको छ । ठूला–ठूला खाल्डा पुरिएका छैनन् । केही ठाउँ मात्रै काम चलिरहेको छ । यो सडकखण्डको विस्तारका लागि बनाइएको दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हात पारेको छ । तर, ठेकेदारले सडकखण्ड विस्तारको कामलाई गति दिन चाहेको छैन ।

सडकखण्ड विस्तारमा ठेकेदार पक्षबाट चरम ढिलाइ र लापरबाही भएपछि विभागले ९ असोजमा ५ कात्तिकभित्र कार्यशैली सुधार्न भन्दै सार्वजनिक सूचना नै जारी गरेको थियो । काम सकिनुपर्ने अवधिमा १८ प्रतिशत मात्रै काम भएको छ । तर, आयोजनाका अधिकारीहरु अझै पनि चेतावनी दिँदा पनि ठेकेदार कम्पनीले सडक मर्मतमा समेत चासो नदिएको बताउँछन् । दसैँको समयमै पनि यो सडकखण्ड भएर यात्रा गर्नेहरुले चरम सास्ती भोगेका थिए ।
‘अहिले एक–दुई ठाउँमा सडक मर्मतको काम भइरहेको छ,’ विभागका एक अधिकारी भन्नुहुन्छ, ‘तर, झारा टार्ने किसिमले काम भइरहेको छ ।’

त्यसपछि पनि ठेकेदार कम्पनीले केही ठाउँमा सुधारका काम थालेको भए पनि अधिकांश खण्ड समस्याग्रस्त छन् । ११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने काम ज्यादै सुस्त गतिमा भइरहेको छ । विभागका प्रवक्ता भीमार्जुन अधिकारी ठेकेदारलाई सुध्रनका लागि दिएको सयमसीमा सकिएपछिको अवधिमा ठेकेदार गरेको काम र कार्यशैलीबारेको प्रतिवेदन मागिएको बताउँनुहुन्छ ।

‘सचेत गराएपछिको अवधिमा कस्तो काम ग¥यो भनेर मूल्यांकन र विश्लेषण गर्छौं,’ उहाँले भन्नुभयो, ‘ परामर्शदाता कम्पनीबाट रिपोर्ट मागेका छौं । त्यसकै आधारमा थप निर्णय हुन्छ ।’

विभागले ठेकेदार कम्पनीले अयोजना र परामर्शदाताले दिएका निर्देशन पालना नगरेको आरोप लगाउँदै आएको छ । सडक विभिन्न खण्डहरु यात्रा गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुँदा समेत मर्मत नगरिएको विभागको भनाइ छ ।

ठेकेदारको लापरबाहीले सवारी र सर्वसाधारणले यात्रा गर्दा असहजता, प्रदूषण र स्वास्थ्य सम्बन्धी समस्या भोग्नुपर्ने अवस्था आएको छ । यसका कारण दुर्घटना बढ्ने अवस्था आएको छ भने वातावरणलाई दुष्प्रभाव परेको छ । स्थानीय समुदाय, सडक प्रयोगकर्ता र स्थानीय तहहरुले सास्ती भोग्नु परेको विभागकै ठहर छ ।

विभागले एक वर्षदेखि ठेकेदार कम्पनीको कामको नजिकबाट सुरपरीवेक्षण गरिएको भन्दै सारभूत रुपमा आयोजनामा काम नै नभएको बताएको छ । तोकिएको लक्ष्यअनुसार ठेकेदारले काम नगरेको भन्दै दुवै प्याकेजका आयोजनाहरुले ठेकेदारबाट तीव्र गतिमा काम गर्ने तयारी समेत भएको नेदेखिएको ठहर गरेका छन् ।

दुवै आयोजनाहरुले ठेकेदार निरन्तर रुपमा कामको गति बढाउन असफल रहेको भन्दै समयमै काम सकिने विश्वास गर्ने खालको वातावरण नरहेको उल्लेख गर्द सूचना निकालेका थिए ।

खरिद सम्झौताअनुसार चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गत २२ साउन २०७९सम्म आयोजनाको सबै काम सक्नुपर्ने थियो । सुरुमा यो आयोजनामा विद्युत्का पोल सार्ने, रूख काट्नु पर्ने र कोरोना महामारी लगायतका कारणले काममा ढिलासुस्ती भएको थियो । तर, त्यसपछि पनि ठेकेदारले काम गर्ने जाँगर नदेखाएको सडक विभागका अधिकारीहरु बताउँछन् ।

नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम हुँदैछ । ठेकेदारले सडक भत्काएर अलपत्र छाड्दा सो सडकखण्डमा दुर्घटना हुनेदेखि यात्रा गर्न निकै सास्ती भोग्नुपरेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार भइरहेको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।

गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । तर, करिब चार वर्षसम्म आयोजनाले सडक भत्काएर अलपत्र पार्ने काम मात्रै गरेको छ ।

यही ठेकेदारले सिद्धबाबा सुरूङमार्ग र द्रुतमार्गको सुरूङमार्ग पनि बनाउने जिम्मा पाएको छ । तर, ती आयोजनामा पनि यो ठेकेदारले ढिला गरेर काम गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>