चितवन विशेष
पत्रकार महासङ्घ चितवनको तालिम केन्द्रका लागि चुकेले जग्गा प्रदान गर्ने

चितवन, कात्तिक ४–
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने हुनुभएको छ ।
चुकेले आफ्ना बुबा अनन्तलाल चुके र आमा गङ्गादेवी चुकेको नाममा महासङ्घलाई नारायणगढ बजार नजिकैको १० धुर जग्गा निःशुल्क रुपमा उपलब्ध गराउन आज सम्झौता सम्पन्न भएको छ । सो जग्गाको बजार मूल्य रु एक करोड हाराहारी पर्ने बताइएको छ ।
जग्गा दाता चुके र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । महासङ्घको पदाधिकारीको उपस्थितिमा भएको सम्झौतामा तीन महिनाभित्रमा जग्गा हस्तान्तरण गर्ने उल्लेख गरिएको छ ।
भरतपुर महानगरपालिका–३, बेलचोक नजिकै कृष्णमार्गमा रहेको चुके परिवारको जग्गा रहेको क्षेत्रमध्येबाट बालगोपालको नाममा रहेको जग्गा उहाँले महासङ्घलाई उपलब्ध गराउन लाग्नुभएको हो ।
यसअघिदेखि नै उहाँले आफ्ना बुबा अनन्तलाल र आमा गङ्गादेवीको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासङ्घले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ । सो जग्गासँगैको करिब दुई कट्ठा सार्वजनिक जग्गा महानगरपालिकाले यसअघि नै संरक्षणका लागि महासङ्घलाई दिने निर्णय गरिसकेको छ ।
शाखा अध्यक्ष अधिकारीका अनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ । जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो ।
भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।
जग्गादाता चुकेले पत्रकारको क्षमता अभिवृद्धिसँगै आर्थिकरुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले बुबाआमाका नाममा जग्गा दिने निर्णय गरेको बताउनुभयो । उहाँ चितवनका सामाजिक व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । महासङ्घले यसअघि बाइपास सडकमा महानगरपालिकामार्फत जग्गा लिन गरेको प्रयास सो जग्गा वनको भएसँगै रोकिएको थियो ।


























