राजनीति
मैले देउवा, प्रचण्ड र नेपाललाई जानकारी गराउँदै चुनावी मैदान छाडेः बाबुराम

काठमाडौँ, कात्तिक ४-
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै आफू चुनाव नलडेको बताएका छन्।
भट्टराईले शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले नयाँ पुस्तालाई अवसर दिनु पर्ने बताउदै । पुराना पुस्तालाई धेरै लोभलालच नगर्न बताउँदै पूर्वप्रधानमन्त्री भइसकेका नेताहरु फेरि लर्कोलगाएर संसदमा जान जरुरी नभएको बताएका हुन् ।
त्यस्तै उनले भने, ‘पदमा बसेर मात्रै पदै सबै थोक हो भनेर मान्छे महान हुँदैन । देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्छ । त्याग र बलिदान गर्ने व्यक्तिको नै इतिहासले मुल्याङकन गर्छ । हाम्रो पुस्ताले बढी लोभलालच गर्नुहुँदैन । सबैले छोड्न त भएन अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि केही समय लाग्छ । पाँच छ जना पूर्वप्रधानमन्त्री भइसकेको साथीहरु अब हामीले फेरि त्यहाँ लर्को लागेर संसदमा गइराख्न हुँदैन । अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ ।’
नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि आफूले चुनाव नलडेको उनको भनाइ छ। तर भट्टराई चुनाव लड्दै आएको क्षेत्र गोरखा २ मा यसपालि प्रचण्ड चुनाव लड्दैछन्।
भट्टराईले राजनीतिमा युवा पुस्ता आउनुपर्ने पनि बताएका थिए। यहाँ भट्टराईकी छोरीसमेत रहेकी समाजवादीकी नेता मानुषी यमी भट्टराई सत्ता गठबन्धनकी साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छिन्।


























