Breaking News

नारायणगढका मादल पसल सुनसान, मौलिक बाजा संकटमा रहेको व्यवसायीको गुनासो

Banner

प्रतिमा कुमाल,

चितवन, कात्तिक–३

तिहारमा भीडभाड हुने नारायणगढका मादल पसलहरु अहिले सुनसान जस्तै भएका छन् ।

मादल बजाई देउसीभैलो खेल्ने यो पर्वमा फाट्टफुट्ट ग्राहक मात्र देखिन्छन् । सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो व्यवसायीहरु गर्छन् ।

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिक रहेको उमेश मादल पसलका नारायण नेपालीले गएको एक हप्तामा जम्मा १२ वटा मादल बेचेको बताउनुभयो । नारायणगढका सबै भन्दा पुराना मादल व्यवसायी नेपालीले यस्तै अवस्था रहे पेसा नै छोड्नु पर्ने दुखेसो पोख्नुभयो । मौलिक बाजामा केन्द्रदेखि स्थानीय सरकारको ध्यान नजादा नेपाली परम्परा, संस्कार, सँस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायीको अस्तित्व मेटिँदै गएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘तिहारमा हिन्दी गीतमा युवायुवती नाच्न थाले, मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुले, विवाह, पूजामा मौलिक गीतलाई बिगारेर कानै दुख्ने ढच्याक–ढुचुक म्युजिक हालेको गीत बजाउँछन् । आधुनिकतासँगै रोधी बस्न छाडे । यस्तै रहे किताबको पानामा मात्र मादल नेपाली बाजा हो भन्ने हाम्रा पुस्ताले पढ्नेछन् ।’

मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहनु भएका नेपालीले आफनो बुबाबाट मादल बनाउन सिक्नु भएको थियो । उहाँको यो पुस्तौली पेसा हो । उहाँले यहाँ बनाएका मादल पोखरासम्म पु¥याउँछन् । गत वर्षसम्म एक हजारमा मादल बेच्दै आउनुभएको उहाँले अहिले महंगीका कारण दुई हजार ५०० देखि पाँच हजार रुपैयाँमा बिक्री गर्दै आउनु भएको छ ।

घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसाय नै धरापमा परेको बताउनु भयो । ‘कोरोना संक्रमण भन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्री, स्वस्तानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । असार साउनमा व्यापार हुदैन थियो । तर, बाँकी महिना राम्रो बिक्री हुँदा सन्तोषजनक थियो’, उहाँले भन्नुभयो । आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृति प्रति आकर्षित हुँदा मौलिकता बचाउन गाहे भएको बसेलको भनाइ छ ।

मादल बनाएर मात्र राष्ट्रिय बाजा मादलको संरक्षण नहुनेमा उहाँको जोड थियो । ‘जबसम्म मादल बजाउने र खरिद गर्नेको संख्या बढ्दैन बाजा लोप हुदै जाने र व्यवसायी बिस्थापित हँुदै जाने छन्’, उहाँले भन्नुभयो । यसलाई जोगाउन हरेक पर्व, समारोहमा साउण्डसिस्टमबाट गीत घन्किँदै गर्दा नेपाली मौलिक बाजालाई पनि अनिवार्य स्थान दिनुपर्ने निर्णय सरकारबाट हुनुपर्ने उहाँको धारणा छ ।

पोखरा बसपार्क रोडको गणेश चोकमा उहाँको मादल पसल छ । १० वर्षदेखि उहाँले आफ्नो श्रीमान् विष्णुकुमार बसेलको साथमा मादल व्यवसाय गर्दै आउनु भएको छ । विष्णु कुमारका अनुसार विद्यालय, संघ–संस्था, मन्दिर, भजनकीर्तन समूह लगायत व्यक्तिगत प्रयोजनको लागि मादल खरिद हुने गरेको छ । साथै उहाँले तिहारको मुख्मा दिनमा ५ देखि १० पिस मादल बिक्री भएको बताउनुभयो । १५ सय देखि छ हजार मूल्यसम्मको मादल घोषणाले बेच्ने गरेको छ ।

आकृति मादल म्युजिक पसल भरतपुर महानगरपालिका–१ लिलाचोकका राम कुदुले मादल बजाउन नजान्ने अहिलेका पुस्ताबाट बाजाको संरक्षण हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको जेनरेसन कतिलाई मादल बजाउन आउँदैन । अंग्रेजी गीतमा नाच्न थालेका नेपालीलाई मादल बजाउन लाज लाग्न थालेको छ ।’

कुदुले विद्यालय देखिनै मादललगायत अन्य मौलिक बाजा बजाउन बालबालिकालाई सिकाउनुपर्ने विचार राख्नुभयो । साथै पलायन हुन थालेका मादल व्यवसायीलाई सरकारबाट अनुदानको व्यवस्था हुनुपर्ने उहाँको माग छ । यसमा स्थानीय सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । गाउँ विकास समिति, टोल विकास समिति, विभिन्न जातजातिका सांस्कृतिक टोलीलगायत मौलिक बाजा बचाउ अभियानमा लाग्नुपर्छ’, उहाँले भन्नुभयो । व्यवसायीको आम्दानी भएन भन्दा पनि हाम्रो मौलिक अस्तित्व जोखिममा छ भनेर सबैले बुझन आवश्यक रहेको कुदुको भनाइ छ ।

भरतपुर महानगरपालिका–१ लिलाचोकमा कुदुको मादल पसल छ । गोर्खाका उहाँले २४ वर्ष देखि मादल बनाउदै बेच्दै आउनु भएको छ । उहाँको मादल, हेटौंडा, बुटवलदेखि पूर्वको धरानसम्म पुग्छ । उहाँले १५०० देखि सात हजारसम्मको मादल बेच्नुहुन्छ । मादल बनाउन प्रयोग हुने सामग्री नेपालमै उत्पादन हुने उहाँले बताउनुभयो । अहिले मादललाई आकर्षक देखाउन रिङको प्रयोग हुने गरेकोले सो सामग्री इन्डियाबाट आउने उहाँको भनाइ छ । रिङको मूल्य केजीको ६०० रुपैयाँ रहेको कुदुले जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>