राजनीति
प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य होइनः नारायणकाजी

काठमाडौं,कात्तिक २-
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य नभएको बताएका छन् । उनले अन्तिम समयमा प्रचण्डले गोरखाबाट चुनाव लड्ने निर्णय लिनुका तीन कारण औँल्याए ।
पार्टीको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै श्रेष्ठले प्रचण्डको खुलेर प्रशंसा गरेका थिए । उनले राष्ट्रिय राजनीतिमा परम्परागत संसदीय प्रणालीमा विश्वास नगर्ने एक मात्र नेता प्रचण्ड भएको बताए । गोर्खा रोज्नुको पहिलो कारण प्रस्तुत गर्दै उनले भने, ‘कमरेड प्रचण्ड मात्रै त्यस्तो नेता हुनुहुन्छ, जसले निरन्तर एउटै निर्वाचन क्षेत्रमा डुबिरहने पुँजीवादी संसद्वादको मान्यतालाई चिर्नुभयो । कहिल्यै पनि एउटै निर्वाचन क्षेत्रमा दोहोर्याएर लड्नुभएको छैन । यही चिन्तन र सोचका कारण उहाँले यसपालि गोर्खा रोज्नुभएको हो ।’
श्रेष्ठका अनुसार दोस्रो कारण चाहिँ जनयुद्धको लिगेसीसँग जोडिएको छ । उनले भने, ‘जनयुद्ध सुरु गर्ने बेला केन्द्रीय कमिटीको तयारी बैठक गोरखामा भएको थियो । जनयुद्ध सुरुवातको आवश्यक फौजी तयारी पनि त्यहीँ गरियो । यो त्यही जिल्ला हो, जहाँ दिलबहादुर रम्तेल जनयुद्धकै पहिलो सहिद भए । अनि, सबैभन्दा उच्च तहका कमरेड वासु पनि यहीँ सहिद हुनुभयो । सहिद तथा बेपत्ता र घाइतेहरूका परिवारको भावनालाई सम्बोधन पनि कमरेड प्रचण्डले गर्नै पर्ने थियो । त्यसैले उहाँले गोर्खा रोज्नुभएको हो ।’
तेस्रो अझ विशेष कारण रहेको श्रेष्ठले बताए । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको थालनी गरेको स्थान भएकाले पनि गोर्खा प्रचण्डको रोजाइमा परेको उनको दाबी छ ।


























