राजनीति
ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छः काँग्रेस नेता कुइँकेल

काठमाडौँ,असोज २९-
कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौँ–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरुले लिने बताएका छन्। शनिबार काठमाडौँ–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभइ कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए।
घर्ती जत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु काठमाडौँ–२ का मतदाताका लागि खुसीको कुरा भएको उनको भनाइ थियो। ‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ। उहाँलाई जिताउने जिम्मा हाम्रो हो। काठमाडौँ–२ का कांग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो।’
संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानून निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवारहरु पराजित हुने दाबी गरे।


























