चितवन विशेष
रुपान्तरणको एजेन्डा बोकेका स्वतन्त्र उम्मेदवार

चितवन, असोज २८–
चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्यायले निर्वाचन रुपान्तरणको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सहि लोकतान्त्रिक व्यवस्था कायम गर्न निर्वाचन रुपान्तरणको एजेन्डा बोकेर उम्मेदवारी दिएको बताउनुभयो ।
उपाध्यायले भन्नुभयो, ‘देशमा लोकतन्त्र स्थापना गर्न प्राथमिक निर्वाचन, राइट टु रिजेक्ट, राइट टु रिकल र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार कायम गर्नुछ । विकासका पूर्वाधारहरुमा वैज्ञानिक सुधार नीति ल्याउनुछ । प्रत्यक्ष जननिर्वाचित राष्ट्रप्रमुखको नीति ल्याउनछ । यसको लागि निर्वाचनमा रुपान्तरण हुनुपर्छ ।’ विदेशमा रहेका नेपाली नागरिकता भएका नागरिकलाई मतदानको अधिकार दिन सरकार डराएको आरोप उपाध्यायले लगाउनुभयो ।
‘नेपाली राजनीति र पार्टीको अवस्था विदेशमा बसेका नेपालीले छर्लङ्ग देखेका छन् । उनीहरुले यहाँको अवस्थ देखेर भोट हाल्छन् भन्ने डर सत्तामा लोलुप्त स्वार्थले भरिएका सरकारदेखि हरेक पार्टीमा छ’, उहाँले भन्नुभयो । उनीहरुलाई मतदान अधिकार नदिनु भनेको सरकारको निकम्मापन रहेको उहाँले जीकिर गर्नुभयो । नोट अधिकार चलाउने सरकारले भोट अधिकार दिन किन सक्दैन भनी सम्मेलन मार्फत सरकारलाई प्रश्न गर्नुभयो ।
निर्वाचन आयोगले पनि यसमा ध्यान नदिएको गुनासो गर्नुभएको छ । सर्वोच्च अदालतले राइट टु रिजेक्ट र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकारलाई आदेश गरिसकेको अवस्था छ । तर, सरकारले आदेशको पालना गरेको छैन । यस्तै चितवन क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कृष्णप्रसाद अधिकारीले राष्ट्रमा स्पष्ट सीमा नीति ल्याउनु आफ्नो एजेन्डा रहेको बताउनुभयो ।
साथै उहाँले निर्वाचनमा विजय भए सुकुमबासीलाई लालपुर्जा एवं गाँस, बासको निःशुल्क व्यवस्था गर्न, जङ्गली जनावरबाट भयरहित वातावरण बनाउन, कृषिलाई आधुनिकीकरण गर्न, प्रशासनिक संघीयता लागू गर्न जोड दिने बताउनुभयो । नन्दराज उपाध्यायको चुनाव चिन्ह कैँची र कृष्णप्रसाद अधिकारीको धारा रहेको छ ।


























