चितवन विशेष

सफाइ पाइसकेका विक्रम पाण्डेलाई दोषी करार गरि भ्रम सिर्जना गर्नु आपत्तिजनक : राप्रपा

Banner

चितवन, असोज २८–
अदालतबाट सफाइ पाइसकेको उमेदवारलाई दोषी करार गरि भ्रम सिर्जना गरिनु आपत्तिजनक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बताएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गरी पार्टी वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको मुद्धा सर्वाेच्च अदालतले २०७९ असार ६ गते नै निरुपण गरी सफाइ दिइसकेकाले भ्रममा नपर्न अनुरोध गरेका छन् ।

पाण्डे लगायत विभिन्न ९ उमेदवारको उमेदवारी खारेजको माग गरी अधिवक्ता अनिल आचार्यले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । पाण्डे चितवन ३ मा उमेदवार बनेका छन् ।

‘रिटमा विक्रम पाण्डेको नाम समेत समावेश गरिएकामा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ उपाध्यक्ष पाण्डेलाई अदालतले सफाई दिइसकेको र राजनीतिक हक उपभोग गर्न कानुनले निषेध नगरेको अवस्थामा निर्वाचनमा होमिएको उमेदवारलाई दोषी करार गरी भ्रम सिर्जना गरिनु आपत्तिजनक छ । यो पूर्वाग्रही सोचको उपज मात्रै हो ।’

यस विषयमा केहि सञ्चार माध्यमले समेत समाचार प्रकाशन प्रसारण गरेकाले विषयको गाम्भिर्यता, यसबाट उमेदवारमा पर्न सक्ने क्षति र मतदातामा समेत भ्रम सिर्जना हुने भएकाले सत्यतथ्य समाचार सम्प्रेषण गर्न राप्रपा चितवनका जिल्ला उपाध्यक्ष जीवलाल पुरीले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>