चितवन विशेष

निर्वाचन आचारसंहिताबारे चितवनका दलहरूलाई जानकारी

Banner

चितवन, असोज २७–

मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनमा रहेका दल र तीनका प्रतिनिधि एवं सरोकारवालालाई निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराएको छ । दलबाट उम्मेदवारी दिएका तथा स्वन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचनको पालना गर्नुपर्नेबारे जानकारी गराइएको हो । निर्वाचनलाई निष्पक्ष, स्वच्छता, पारदर्शी तथा भयमुक्त वातावरण बनाउन आचारसंहिताबारे जानकारी दिइएको हो ।

आचारसंहिताबारेमा जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दल र उम्मेदवारले आमसभा गर्दा सभ्य तवरले जुलुस, आमसभा, भेला गर्नुपर्ने, कसैको घरपरिवारको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने, निर्वाचन चिह्न वा झण्डा अङ्कित स्टिकर, कपडा, ब्याज, मास्क, लकेट वा झोला बोक्न नहुने, निजी घरजग्गा वा सार्वजनिक स्थानमा निर्वाचन चिह्न, दलको झण्डा टाँस्न वा राख्न नपाइने जानकारी गराउनुभयो । प्रचार–प्रसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने, बालबालिकाको प्रयोग गर्न नपाइने, ७५ ग्रामको कागजमा तीन सय वर्ग इन्चको एउटै रङ र मुद्रकको नामसहितको पर्चा प्रयोग गर्नुपर्ने, तीन–चार फिटको झण्डा र सोही नापको चुनाव चिह्न राख्नुपर्ने सो अवसरमा जानकारी गराइएको थियो ।

कात्तिक १७ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम गर्नुपर्ने भोजभतेर, नगद वा जिन्सी वितरण गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमतिले दुईवटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइने सो अवसरमा जानकारी दिइएको थियो । सञ्चारमाध्यममा प्रचार–प्रसार गर्दा प्रदेशसभाको एक घण्टाको अन्तरालमा बढीमा तीनपटक र प्रतिनिधिसभाको सदस्यका लागि चारपटक एक मिनेटको प्रचार सामग्रीमात्र प्रचार गर्नुपर्ने निर्वाचन अधिकृत थापाले बताउनुभयो । पत्रपत्रिकामा बढीमा सात–सात इन्चसम्मको प्रचार सामग्री छाप्न पाइने र विदेशी सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

निर्वाचनका लागि उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने र रु २५ हजारभन्दा बढी सहयोग लिँदा बैंक खातामा खोल्नु पर्ने आचारसंहितामा उल्लेख छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसहित सुरक्षा निकायका अधिकारीहरू र दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>