Breaking News

चितवनमा डिभी भर्नेको लर्को, मनपर्दी शुल्क उठाउँदै व्यवसायी

Banner

 प्रतिमा कुमाल,

भरतपुर,असोज २७-

चितवनबाट अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी)को आवेदन भर्नेको घुइँचो लागेको छ । इडिभी भर्नेहरुको संख्या अत्यधिक भएसँगै यसको फाइदा उठाउँदै कम्युनिकेशन व्यवसायीहरुले मनपर्दी शुल्क उठाएका छन् ।

चितवनको नारायणगढमा रहेका कम्युनिकेशन व्यवसायीहरुले इडिभी भरिदिएबापत एक जनासँग ४५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म शुल्क लिएका छन् । कालिका डिजिटल कलर ल्याब एण्ड फ्याक्स, मनकामना कम्युनिकेशन सेन्टर नारायणगढ र शुभकामना कम्युनिकेशनले इडिभी भर्दा अविवाहितहरुसँग २५० रुपैयाँ लिएका छन् । शुभकामना कम्युनिकेशनले विवाहित दम्पतीको इडिभी भरेवापत ४५० रुपैयाँ लिएको छ ।

श्रीमान् श्रीमती दुवैले फरक–फरक इडिभी भरे ९०० रुपैयाँ लिएका छन् । मनकामना कम्युनिकेशनले दम्पतीको ५०० रुपैयाँ लिएको छ । श्रीमान् श्रीमती दुवैले फरक–फरक भरे एक हजार रुपैयाँ तिर्नुपर्छ । यस्तै कालिकाले भने श्रीमान् श्रीमतीमध्ये एक जनाले भरे ३५० रुपैयाँ र दुवै जनाले अलग अलग भरे ७०० रुपैयाँ लिने गरेको छ । दुई सन्तान सहित श्रीमान् र श्रीमतीले भरे ४५० रुपैयाँ र दुवै जनाले फरक–फरक भरे ९०० रुपैयाँ लाग्ने कालिकाले जनाएको छ ।

इडिभी भर्न नारायणगढमा पुगेका बासुदेव पौडेलले डिभी भर्नको लागि ९०० रुपैयाँ तिरेको बताउनुभयो । भरतपुर–६ चोकबजारका पौडेलले शुभकामनामा आफ्नो र आफ्नो श्रीमतीको फरक–फरक फर्म भरेको बताउनुभयो । इडिभी फारम भरेको शुल्क धेरै भएपनि इडिभी परेमा आफ्नो भविष्य बदलिने चाहनाले चर्को शुल्क तिरेरै भए पनि फारम भरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा रोजगारी नभएकाले सिस्टममा चलेको देश जान रहर लाग्छ । त्यसको लागि शुल्क बढी भएपनि तिर्नुप¥यो ।’

उहाँको यो दोस्रो पटक हो । यो भन्दा ६ वर्ष अगाडि पनि पौडेलले इडिभी भर्नुभएको थियो । खाडी मुलुक गएर फर्किनुभएका पौडेल इडिभी परे देशमा बढ्दै गएको बेथिति र राजनीतिक दुर्गन्धबाट टाढा हुने बताउनुहुन्छ । कालिका नगरपालिका वडा नं. ५ की स्वेच्छा ढकालले तेस्रो पटक इडिभी भर्नुभएको छ । इडिभी परिहाले आफू र आफ्नो परिवारको भविष्य राम्रो हुने उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा रोजगार पाउन गाह्रो छ । आफ्नो मान्छे पद वा राजनीतिक पहुँच भएमात्र राम्रो जागिर पाहिन्छ । लाटोको खुट्टा बाटोमा परिहाले आफ्नो र परिवारको भविष्य बन्ने थियो ।’ ढकालले नारायणगढको सहिदचोकमा रहेको कालिका डिजिटल कलर ल्याब एण्ड फ्ल्याक्समा यस पटक इडिभीको फर्म भर्नुभएको हो ।
भरतपुर २३ जगतपुरका रोसन कुमार क्षेत्रीले २५० रुपैयाँ शुल्क तिरेर शुभकामनाबाटै इडिभी भर्नुभएको छ । उहाँले इडिभी नपरेपनि नेपाल नबस्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अष्ट्रेलियाको भिजा रिजेक्ट भयो, डिभी भरेको छु । परे राम्रो नपरे ठीकै छ तर स्वदेशमा बस्दिनँ । कुनै न कुनै देश जान्छु ।’ व्यवस्थापन विषय लिएर स्नातक दोस्रो वर्ष अध्ययन गरिरहनुभएका क्षेत्रीले देशमा पढाइ अनुसारको रोजगार र तलब नहुँदा स्वदेशमै केहि गरुँ भन्ने भावना नभएको बताउनुभयो ।

देशको राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी, पढाइ अनुसारको रोजगारी नपाउने, कम पारिश्रमिकलगायतका समस्याले देश छोड्न चाहने क्षेत्री मात्र होइनन् । भरतपुर महानगरपालिका वडा नं. २६ ज्योतिनगरकी सोनिसा गुरुङ, सगुन गुरुङ, साइना चन्द र सिरज ढकालको गुनासो पनि उस्तै छ । बिएस्सी आइटी तेस्रो वर्षमा अध्ययनरत सगुन गुरुङ भन्नुहुन्छ, ‘मिडल क्लास परिवारको समस्या भनेकै पैसाको हुन्छ । दुःख गरेर छोराछोरी पढायो जागिर खानेबेला कुन पार्टीको भन्ने सोधिन्छ । डिभी नपरे जापान, कोरिया, क्यानेडा जहाँ हुन्छ जान्छु ।’

यस्तै अष्ट्रेलियाको तयारी समेत गरिरहनुभएका सिरज ढकालले स्वदेशमै बस्न मन लागेपनि गरी खाने ठाउँ नभएको बताउनुभयो । भ्रष्टाचार, पहुँचवालको हातमा यैसआराम हुँदासम्म देशमा युवा जनशक्ति नटिक्नेमा उहाँको भनाइ छ । साथै उहाँले काठमाडौँ महानगरपालिका प्रमुख बालेन साह जस्ता स्वतन्त्र व्यक्ति राजनीतिमा आए युवा स्वदेशमै बस्ने धारणा राख्नुभयो ।

मनकामना कम्युनिकेशन सेन्टर नारायणगढका सञ्चालक यतिराज सापकोटाले कक्षा १२ पास गरेकादेखि चिकित्सकसम्मले इडिभी भर्ने गरेको बताउनुभयो । ‘विकसित देश जाने सबैको चाहाना र बेरोजगारको समस्याले नै इडिभी भर्नेको संख्या बढ्दो छ’, उहाँले भन्नुभयो । बुधबारमात्रै उक्त कम्युनिकेशनले २०० जनाको डिभी फर्म संकलन गरेको छ । कालिका डिजिटल कलर ल्याब एण्ड फ्ल्याक्सले बुधबार दिउँसोसम्म ६३० जनाको फर्म भरेको छ । यो ८ दिनको तथ्यांक हो ।

सुन्दर भविष्यको कल्पना विदेशमा देखिँदा इडिभी भर्नेको लर्को छ । यसलाई कम्युनिकेशन व्यवसायीले आफ्नो कमाउने बाटो बनाएका छन् । व्यवसायीले आफूखुसी शुल्क निर्धारण गरी फर्म भरिरहेका छन् । शुभकामना कम्युनिकेशनका सञ्चालक अरुण बरालले भन्नुभयो, ‘कम्युनिकेशन सेन्टरहरुको आफ्नो आफ्नो रेट छ । आफै राख्ने हो ।’

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले कम्युनिकेशनको मनपर्दि शुल्कको विषयमा कुनै जानकारी नभएको बताउनुभयो । आफूले जहाँबाट डिभी भरेको हो त्यहाँ पैसा तिरेको बिल सहित जिल्ला प्रशासन आए उक्त संस्थालाई कारबाही गरिने उहाँको भनाइ छ । उनले भने, ‘मनपर्दी शुल्क उठाको जानकारी हामीलाई छैन । यस्तो भए बिल सहित प्रशासन आउनुस् । यस विषयमा बुझेर कारबाही गर्छौं ।’ साथै शर्माले इडिभी भर्दा अनिवार्य बिल लिन आग्रह गर्नुभएको छ ।

इडिभि असोज १९ गतेदेखि खुलेको हो । यो ३५ दिनसम्म खुल्ला हुनेछ । इडिभीको परिणाम २०८० साल वैशाख २३ गते आउने छ । व्यक्तिले कुनै कम्युनिकेशन सेन्टरको भर नपरी अनलाइन मार्फत पनि आफै इडिभी भर्न सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>