चितवन विशेष

सेफ ल्याण्डिङको निम्ति प्रचण्ड गोरखा जानुभयो, हाम्रो उम्मेदवारी रहन्छ : जगन्नाथ पौडेल

Banner

चितवन, असोज २२–

नेपाली कांग्रेसबाट कारबाही भोगेका जगन्नाथ पौडेल प्रतिनिधि सभाको निर्वाचनमा चितवन–३ बाट स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । चुनाव लड्ने व्यक्तिगत इच्छा नभएर जनमत बचाउने मात्र उद्देश्य रहेको उनी बताउँछन् । चुनावमा उम्मेद्वार उठ्नुपर्ने मतदाताहरुको दवाव आएको पौडेलले बताए । आइतबार हुने मनोनयन दर्तामा आफू वा आफूले सिफारिस गर्ने कुनै व्यक्ति उम्मेद्वार रहने पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले कारबाही गरेपछि रुष्ट बनेका पौडेलले आफ्नो समूह स्वतन्त्र रुपमा चुनावमा सहभागी हुने बताएका छन् । ‘माओवादीको सिफारिसको आधारमा संगठनले हामीलाई कारबाही गरेको छ । त्यसरी कारबाही गर्नेलाई हाईहाई भन्नुपर्ने कुरा के छ र ?’, उनी भन्छन्, ‘जो सुकै उठेपनि उम्मेद्वार उठ्नुपर्छ भन्ने कुरा मूख्य हो, त्यो भोली स्पष्ट हुन्छ ।’ स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उमेदवारी दिएपछि पौडेल लगायत उनको समूहलाई कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्काशन गरेको थियो ।

यसअघि चितवन–३ बाट चुनाव लडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक गोरखा जाने निर्णय गरेका छन् । पौडेल समूह कांग्रेस नेतृत्व रुष्ट हुनुको प्रमुख कारण नै भरतपुर महानगरपालिका र चितवन ३ माओवादीलाई छाडेकाले हो । प्रचण्डले चितवन ३ छाडेपनि यो क्षेत्र माओवादीकै भागबण्डामा परेकाले माओवादीकै अर्का उमेदवार उठ्ने निश्चित छ ।

चितवन २ र ३ मा नै आफू बढि केन्द्रित भएको पौडेलले बताए । भरतपुर महानगरपालिकाको मेयर रेनु दाहाल र प्रचण्ड बुवा छोरी हुन् । बावुछोरी एउटै जिल्लाबाट उठ्नु नहुने पौडेलले बताए । ‘प्रचण्डलाई परिवारवादको लान्छना लाग्यो, पार्टीभित्रै विद्रोह भयो । तरपनि हाम्रो समर्थन विना प्रचण्डले चुनाव लड्ने सम्भावना थिएन’, उनी भन्छन्, ‘उहाँ सेफ ल्याण्डिङको निम्ति गोरखा जानुभयो । यद्यपी भोलि मनोयन दर्ता गर्ने समय रहेकाले त्यतिन्जेलसम्म हेरौँ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>