चितवन विशेष

प्रचण्डले चितवन ३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउन किन चाहेनन् ?

Banner

चितवन, असोज २२–

चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने सोँच बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक गोरखा–२ रोज्न पुगे । चितवनबाटै निर्वाचन लड्न गठबन्धनका जिल्ला नेतादेखि वडाध्यक्षसम्मले गरेको आग्रह वेवास्ता गर्दै प्रचण्डले गोरखा–२ बाट चुनाव लड्ने निर्णय गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा नयाँ घर समेत बनाएका प्रचण्डले एकाएक चितवन छाडेर किन गोरखा रोजे ? यो प्रश्न धेरैको मनमा खेलेको छ ।

२०६४ को संविधान सभा निर्वाचनमा प्रचण्डले रोल्पा–२ र काठमाडौँ–१० बाट जितेका थिए । २०७० को निर्वाचनमा उनी सिरहा–४ बाट निर्वाचित भए । एकै व्यक्ति दुई निर्वाचन क्षेत्रबाट उठ्न नपाउने व्यवस्था भएपछि प्रचण्डले चितवन–३ लाई नै स्थायी निर्वाचन क्षेत्र बनाउने गरी चितवन लक्षित राजनीति गरेका थिए । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग मिलेर चितवन–३ बाट जितेका प्रचण्डले यस पटक गठबन्धनको भरमा यहि क्षेत्रबाट जित निकाल्ने दाउमा थिए ।

तर, कांग्रेसभित्रको अन्तरविरोध लगायत विभिन्न कारणले प्रचण्डले चितवन ३ लाई सुरक्षित देखेनन् । स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले समेत चितवन ३ मा आँखा लगाएपछि प्रचण्डले सुरक्षित स्थान खोज्दै गोरखा पुगेका हुन् ।

माओवादी नेता भन्छन्– ‘कांग्रेस कार्यकर्ताले हँसिया हतौडामा भोट हाल्छन् भन्नेमा अध्यक्ष सशंकित हुनुहुन्थ्यो, समग्र परिस्थितिको मूल्यांकन गरी उहाँ गोरखा जानुभएको हो ।’ चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने बताउँदै आएका प्रचण्डको यो निर्णयले चितवनका माओवादी कार्यकर्ताले कालो दिनको संज्ञा दिएका छन् ।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी चितवनकी नेत्री निशा न्यौपानेले यो निर्णयलाई ‘चितवनको कालो दिन’ भनेकी छन् । प्रचण्डपुत्री एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले यो निर्णयलाई चितवनवासीका लागि दुर्भाग्य भनेकी छन् । ‘दुःखद चितवनवासीका लागि दुर्भाग्य,’ उनले फेसबुकमा लेखेकी छन्, ‘स्तब्ध, भित्री–बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ ।’

शुक्रबार बेलुका बालुवाटारमा सत्ता गठबन्धनको बैठकलगत्तै पार्टी पदाधिकारी बैठक बोलाएर दाहालले गोरखा–२ बाट उम्मेदवारी दिने निर्णय अनुमोदन गराएका हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी पूर्वमाओवादी नेता बाबुराम भट्टराईले उम्मेदवार नहुने निर्णय गरेपछि दाहाल त्यहाँ पुगेका हुन् । भट्टराईले आफूले नै गोरखाबाट उम्मेदवार हुन आग्रह गरेको बताएका छन् ।

गठबन्धनमा चितवन–३ मा माओवादीलाई दिने सहमति भएको छ । प्रचण्डले छाडेपछि उक्त क्षेत्रमा नारायण दाहाल, सूर्य सुवेदी र निशा न्यौपानेको दाबी छ । स्थानीय तहको निर्वाचनमा बागी उमेदवारी दिएर कांग्रेसबाट कारबाही भोगेका जगन्नाथ पौडेलले आगामी प्रतिनिधि सभाको निर्वाचनमा पनि चितवन ३ बाटै उमेदवारी दिने बताएका छन् । एमालेले भने चितवन ३ को लागि उमेदवार टुंग्याएको छैन । उमेदवारको मनोनयन दर्ता गर्ने दिन भोलिको लागि तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>