Breaking News
प्रत्येक निर्वाचनमा नयाँ क्षेत्रमा चुनाव लड्ने गरेको छु, यसपटक पनि नयाँ ठाउँ खोजेको हुँः प्रचण्ड

चितवन, असोज २०–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुन ठाउँबाट चुनाव लड्ने भन्ने विषय अझै टुंगो नलागेको बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाका वडाअध्यक्षहरुसंग आज भएको भेटमा अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्रको बारेमा अझै टुंगोमा पुग्न बाँकी रहेको बताएका हुन् । उनले पार्टीले गर्ने निर्णय अनुसार नै आफू निर्वाचनमा होमिने बताए । ‘पार्टीले जे निर्णय गर्छ म त्यही ठाउँबाट चुनाव लडछु, चितवन ३ पनि हुन सक्छ गोरखा २ पनि हुन सक्छ’–प्रचण्डको भनाईलाई उदृत गर्दै भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले नारायणी अनलाइनसंग भने ।
प्रचण्डले चितवनबाट गएको डेलिगेशन टोलीलाई आफूलाई चितवन ३ बाटै निर्वाचन लड्ने प्रस्ताव पार्टी र गठबन्धनमा लैजाने आश्वासन दिए । ‘तपाईहरु पनि आउनु भयो, भोलि चितवनबाटै अर्को टोली आउदैछन्, गोरखाबाट पनि यतै आउनुप¥यो भनेर डेलिगेशन आउँदैछन्, सबैको सल्लाह अनुसार अघि बढ्छु’–प्रचण्डले भने । उनले आफू प्रत्येक निर्वाचनमा फरक क्षेत्रबाट चुनाव लडेको स्मरण गराउँदै यसपटक पनि नयाँ ठाउँबाट चुनाव लड्न चाहेको बताएका थिए ।
‘प्रत्येक निर्वाचनमा अर्को क्षेत्रबाट लड्ने गरेको छु, यसपटक चाँही चितवन ३ नम्बरबाटै लड्न खोजेको थिए तर देशका धेरै ठाउँबाट चुनाव लड्ने प्रस्ताव आएकोले सल्लाहमै छु’–प्रचण्डको भनाईलाई उदृत गर्दै महतोले भने । प्रचण्डले गठबन्धनबाट पनि शीर्ष नेता कहाँबाट लड्ने भन्ने निर्णय हुनुपर्ने भएकाले अहिले छलफल जारी रहेको बताएका थिए ।
प्रचण्ड २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट जितेका थिए । त्यसअघि उनी रोल्पा, काठमाडौँ, सिराहालगायत ठाउँबाट चुनाव लडेका थिए ।
प्रचण्डलाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्दै भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरु आज काठमाडौं डेलिगेशनमा गएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीबाट निर्वाचित वडा अध्क्षहरु प्रचण्डलाई चितवनबाटै चुनाव लड्न आह्वान गर्दै डेलिगेशनमा गएका हुनु । उनीहरुले अध्यक्ष प्रचण्डसंगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासंग पनि भेट गरेका छन् ।
भेटमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसंगै उद्योगी, व्यवसायीहरु समेत सहभागि थिए । वडा अध्यक्षहरुले चितवनको विकासमा प्रचण्डको आवश्यकता अपरिहार्य रहेकाले चितवन ३ बाटै चुनाव लड्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पार्टीको निर्णय अनुसार आफू अघि बढ्ने भन्दै डेलिगेशन टिमलाई धन्यवाद दिएका थिए ।


























