चितवन विशेष

भरतपुरका मनकारी जनप्रतिनिधि रेशमराजः भत्ता रकमले लत्ताकपडा बाँडेर मनाए दसैं (भिडियो)

Banner

चितवन, असोज १८–

स्थानीय तहको निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधिहरुले विभिन्न शीर्षकमा रहेर भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक जना वडा सदस्यले मात्रै दसैं अगाडि झण्डै ४० हजार रुपैयाँसम्म भत्ता प्राप्त गरेका छन् । जनताका सेवाका लागि जनप्रतिनिधि भएर निर्वाचित व्यक्तिहरुले समाजसेवामा खासै खर्च गरेको पाइदैन । तर भरतपुर महानगरपालिका वडा नं.१० का निर्वाचित युवा वडा सदस्य रेशमराज थापा (ऋषि) सुरुवाती चरणबाटै समाजसेवालाई प्राथमिकता दिएका छन् ।

उनले आफूले पाएको भत्ता रकमलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । सोही अनुरुप थापाले मंगलबार नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङगता भएका विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेर दसैं मनाएका छन् । उनले बालबालिकाहरुलाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गरेका छन् ।
सो क्रममा बोल्दै युवा नेता थापाले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडा भित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङगता भएका विद्यार्थीहरुलाई लत्ताकपडा सहयोग गरिएको बताए ।

‘यो मेरो सुरुवात मात्रै हो, मैले पाँच वर्षमा जेजति भत्ता पाउँछु सबै रकम यसरी नै शिक्षा र स्वास्थ्यमा खर्च गरेर सहयोग गर्नेछु’–थापाले भने । उनले दशैंको बीचमा कार्यक्रम गरिएकाले धेरै विद्यार्थी समेट्न नसकेको भन्दै आगामि दिनमा निरन्तरता दिने बताए । उनले सो विद्यालयका विद्यार्थीलाई मात्र नभई भरतपुरमा ठेला व्यवसाय गरि छोराछोरी पढाई रहेका अभिभावकलाई पनि कपडा सहयोग गरेका छन् ।

दसैंमा नयाँ कपडा पाएपछि बालबालिकाहरुको मुहारमा खुशीयाली छाएको थियो । विद्यालयका अध्यक्ष टेकबहादुर गुरुङले युवा जनप्रतिनिधिको सकरात्मक कार्यले थप उर्जा मिलेको बताए । बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई घरपरिवारले समेत माया नगर्ने गरेको भन्दै जनप्रतिनिधिले दिएको सहयोगले विद्यार्थीहरुलाई हौसला मिलेको बताए । उनले आगामि दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई सबैले माया गर्नुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>