राजनीति
म फरार भएको छैन,पार्टी कमिटीसँग सम्पर्कमै छुः भीम रावल

काठमाडौ,असोज १२-
एमालेका नेता भीम रावलले आफू पार्टी कमिटीसँग निरन्तर सम्पर्कमै रहेको बताएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो राखेपछि रावलले आफु फरार नरहेको बताएका हुन् ।
आफू अहिले अछाममा चुनावी कार्यक्रममा व्यस्त रहेको उनले बताए। ‘म पार्टी कमिटीसँग नियमित सम्पर्कमै छु। जिल्ला कमिटी अछामसँग चुनावी कार्यक्रम र योजना बनाउन क्रियाशील नै छु। अध्यक्षज्यूले कोसँग के भन्नुभयो मलाई जानकारी रहेन। एक-दुई दिनमै काठमाडौं आउँछु,’ रावलले भने।
गएको सोमबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहोरालगायत अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।
त्यसक्रममा ओलीले रावललाई लक्षित गर्दै पार्टीको अनुशासनमा नेताहरू रहनु पर्ने भन्दै नेतृत्वसँग सम्पर्कमा रहनुपर्ने बताएका थिए। अछाम क्षेत्र नम्बर १ बाट रावल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। उनी उम्मेदवार हुनेरनहुने अन्तिम निर्णय केन्द्रबाटै हुनेछ। अछाम १ बाट तीन पटक निर्वाचित रावल यस पटकको उम्मेदवारीबारे आफैं पनि अनिर्णीत छन्।


























