चितवन विशेष
हेलिकप्टरमा चितवन घुम्न एक लाख ७० हजार

चितवन, असोज ८-
हेलिकप्टरमा चितवन घुम्न एक लाख ७० हजार रूपैयाँ लाग्ने भएको छ ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट चितवन घुमेर फेरि काठमाडौँ फर्कनका लागि चार्टरमा सो रकम तोकिएको हो ।
अहिले विभिन्न ११ वटा कम्पनीका ३० वटा हेलिकप्टर देशका विभिन्न भाग घुमाउन सञ्चालनमा छन् ।
कुनै बेला पर्यटन र मनोरञ्जनका निम्ति सर्वसाधारणले हेलिकप्टर चार्टर गर्ने कुरा धेरै परको थियो । स्वास्थ्य समस्या र आपतकालीन अवस्थामा मात्र हेलिकप्टर चार्टर हुन्थ्यो । अहिले, अझ कोरोना महामारीपछि भने यो प्रवृत्ति फेरिएको छ । अचेल विदेशीसँगै आन्तरिक पर्यटकले हेलिकप्टर चार्टर गरेर धार्मिक गन्तव्य, उच्च पहाडी÷हिमाली भेग पुग्ने क्रम बढ्दो छ ।
कोरोना लकडाउनसँगै लामो समय अन्तर्राष्ट्रिय भ्रमणमा जान बन्देज भयो । मानिसहरू घरमै थुनिएझैं भए । लकडाउन खुलेपछि उकुसमुकुस भएकाहरू घुम्न थाले । देशभित्रै घुम्नेहरूको संख्या बढ्यो । पर्यटन व्यवसायीहरूले बताएअनुसार कोरोनापछि आन्तरिक पर्यटक एकदमै बढेका छन् । एक–दुई वर्ष त यहाँका होटल तथा पर्यटकीय व्यवसाय आन्तरिक पर्यटकले नै धाने ।
हेलिकप्टर चार्टर गर्नेमा पनि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्की बताउँछन् । ‘पर्यटकीय सिजनमा हेलिकप्टरलाई चार्टर्ड उडानमा भ्याइनभ्याइ हुन्छ,’ कार्कीले भने, ‘पदयात्रा र पर्वतारोहणमा पर्यटक आवतजावतका लागि हेलिकप्टर चार्टर हुन्छ । यसमा पनि सबभन्दा बढी सगरमाथा क्षेत्रमा ।’
कोरोनाअघि विदेशी पर्यटक यसरी हेलिकप्टरमा घुम्थे । पछिल्लो समय विदेशी पर्यटक कम भए पनि हेलिकप्टर चार्टर भइरहेको उनी बताउँछन् । उनले थपे, ’कोरोनाअघिसम्म नेपालीहरूले बिरामी पर्दा र उद्धारका लागि मात्र हेलिकप्टर चार्टर गर्थे। कोरोनापछि भने चार्टर गरेर घुम्न जान थालेका छन् । कोरोनाले नेपालीहरूमा हेलिकप्टरमा घुम्न जाने ट्रेन्ड बनाइदियो । यो बढ्दै पनि छ ।’
उनका अनुसार यसरी नेपालीहरू हेलिकप्टरमा सबभन्दा धेरै पुग्ने धार्मिक गन्तव्यमा हो । गोसाइँकुण्ड, पाथीभरा, मुक्तिनाथलगायत उच्च भेगमा रहेका धार्मिक गन्तव्य आन्तरिक पर्यटकको रोजाइमा परेका छन् । यस्ता गन्तव्यमा सपरिवार जान मिल्ने भएकाले पछिल्लो समय दर्शनयात्रामा हेलिकप्टर चार्टर रूचाइएको उनी बताउँछन् ।
नेपालीहरूले उद्धार, खाद्यान्न तथा स्वास्थ्य सामग्री ओसारपसारका लागि प्रयोग गरिरहेको हेलिकप्टर पर्यटनका पनि प्रयोग हुन थालेपछि यो उद्योग सुधारोन्मुख भएको कार्कीले बताए।
उनका अनुसार एउटा हेलिकप्टरले वार्षिक कम्तीमा आठ सय घन्टा उडाउने लक्ष्य राखेको हुन्छ । प्रायः सबैजसो हेलिकप्टरले लक्ष्यअनुसार उडान गरिरहेको उनको भनाइ छ ।
हेलिकप्टर उडानको वर्षमा दुई मुख्य सिजन हुन्छ । पहिलो सिजन दुई महिना हुन्स अप्रिल र मे। दोस्रो सिजन तीन महिनास अक्टोबर, नोभेम्बर र डिसेम्बरको पहिलो सातासम्म । यो समयमा विभिन्न रूटमा पदयात्रा र पवर्तारोहणका लागि जाने पर्यटक बढ्छन्, हेलिकप्टर उडानमा पनि चाप हुन्छ।
कार्कीका अनुसार सरदर तथ्यांक हेर्दा अहिले हेलिकप्टर चार्टर्ड उडानमा ७० प्रतिशत विदेशी पर्यटक छन् भने ३० प्रतिशत नेपालीहरु देखिन्छन् ।
हेलिकप्टर चार्टर गरेर कहाँ जान कति लाग्छ भाडा:
संघले हालै काठमाडौंबाट २० विभिन्न गन्तव्य, पोखराबाट मुक्तिनाथ र सगरमाथा तथा लुक्ला क्षेत्रका निम्ति नयाँ भाडादर सार्वजनिक गरेको छ । इन्धन र अमेरिकी डलरको भाउ बढेकाले चार्टर शुल्क बढाइएको संघको भनाइ छ । नयाँ भाडादर आगामी असोज १५ ९अक्टोबर १० बाट लागू हुने संघले जनाएको छ ।
नयाँ भाडादर अनुसार, सगरमाथा र लुक्ला क्षेत्रबाहेकका २१ गन्तव्यमध्ये सबभन्दा कम शुल्क काठमाडौंबाट गोसाइँकुण्डको हो । यहाँ जानआउन दुई तर्फी यात्राका लागि एक लाख २० हजार रूपैयाँ तिर्नुपर्छ।
त्यस्तै सबभन्दा महँगो काठमाडौं–धनगढी–काठमाडौंको हो। यो गन्तव्यमा दुईतर्फी भाडा आठ लाख २५ हजार रूपैयाँ तोकिएको छ।
हेर्नुहोस् भाडादरः
काठमाडौं–गोसाइँकुण्ड–काठमाडौंः १ लाख २० हजार रूपैयाँ।
काठमाडौं–चितवन–काठमाडौंः १ लाख ७० हजार रूपैयाँ।
काठमाडौं–वीरगन्ज–काठमाडौंः १ लाख ७० हजार रूपैयाँ।
काठमाडौं–जनकपुर–काठमाडौंः २ लाख २० हजार रूपैयाँ।
काठमाडौं–ओखलढुंगा–काठमाडौंः २ लाख २० हजार रूपैयाँ।
काठमाडौं–पोखरा–काठमाडौंः २ लाख २५ हजार रूपैयाँ।
काठमाडौं–फाप्लु–काठमाडौंः २ लाख ५० हजार रूपैयाँ।
काठमाडौं–खोटाङ–काठमाडौंः २ लाख ५० हजार रूपैयाँ।
पोखरा–मुक्तिनाथ–पोखराः २ लाख ५० हजार रूपैयाँ।
काठमाडौं–धरान–काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ।
काठमाडौं–भैरहवा÷बुटवल–काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ।
काठमाडौं–भोजपुर–काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ।
काठमाडौं–ताप्लेजुङ–काठमाडौंः ३ लाख ७० हजार रूपैयाँ।
काठमाडौं–विराटनगर–काठमाडौंः ३ लाख ९० हजार रूपैयाँ।
काठमाडौं–मुक्तिनाथ–काठमाडौंः ४ लाख २० हजार रूपैयाँ।
काठमाडौं–पाथीभरा–काठमाडौंः ४ लाख २० हजार रूपैयाँ।
काठमाडौं–दाङ–काठमाडौंः ४ लाख ९० हजार रूपैयाँ।
काठमाडौं–चन्द्रगढी–काठमाडौंः ५ लाख रूपैयाँ।
काठमाडौं–नेपालगञ्ज–काठमाडौंः ५ लाख ८० हजार रूपैयाँ।
काठमाडौं–सुर्खेत–काठमाडौंः ५ लाख ८० हजार रूपैयाँ।
काठमाडौं–धनगढी–काठमाडौंः ८ लाख २५ हजार रूपैयाँ।
(सबिना कार्की, सेतोपाटी )
























