कृषि
भारतीय माछाको अवैध आयात रोक्न चितवनका उद्योगी व्यवसायीको माग

चितवन, असोज ८–
भारतीय माछाको अवैध आयात अबिलम्ब रोक्न चितवनका उद्योगी व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार जिल्लाका सात वटा उद्योगी व्यवसायी संघ संगठनले पत्रकार सम्मेलन गरी भारतीय माछा आयातमा रोक लगाउन सरकारसँग माग गरेको हुन् । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भन्सार छली गरी दैनिक भारतबाट ५० टन हाराहारीमा माछा नेपाल भित्रिने गरेको बताए । उनले भने, ‘भारतबाट आयात हुने एक–दुई टन माछाको मात्रै भन्सार तिर्ने गरेको छ । ५० टन हाराहारीको माछा दैनिक भन्सार छली गरी नेपाल भित्रन्छ ।’
भारतीय माछा स्वास्थ्यको लागि हानिकारक समेत रहेको श्रेष्ठको भनाइ छ । भारतबाट आउने माछामा अखाद्य रासायनिक पदार्थ (फर्मालिन र नाइट्रेड) मिसावट हुने गरेको उनले बताए । श्रेष्ठले नेपालमा उत्पादित माछा उपभोक्ताहरुको माग बमोजिम पर्याप्त रहेको जानकारी गराए ।
चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले जबसम्म बाहिरी हस्तक्षेप रहन्छ तबसम्म देशलाई खाद्यमा आत्मनिर्भर बनाउन नसकिने बताए । भारतीय माछाको अवैध आयातलाई नरोके माछामा आत्मनिर्भर बन्दै गएको नेपालका मत्स्य किसान निरुत्साहित हुने उनले बताए । उनले भने, ‘एकातर्फ राज्यले मुलुकलाई माछामा आत्मनिर्भर बनाउनुपर्छ भनेर अनुदान लगायतका कार्यक्रमहरु लागु गर्ने अर्कोतर्फ भारतबाट माछा आयात गर्ने कार्यले मत्स्य किसानहरु निरुत्साहित भएका छन् ।’ राज्यको सम्बन्धित निकाय मौन हुँदा राज्यले नै ठूलो राशीको राजश्व समेत गुमाएको उनको भनाइ छ । न्यौपानेले स्वदेशमा नै उत्पादित स्वस्थ र ताजा माछा उपभोग र उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।
चितवन मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीले बैधानिक रुपमा भारतीय माछा नेपाल आए प्रतिस्थापन गर्न सकिने बताए । नेपालमा करिब ६५ हजार म्याट्रिक टन माछा खपत हुने र ६० प्रतिशत यहि उत्पादन हुने गरेको उनले बताए । भारतीय माछा सस्तो भएकोले अवैध रुपमा नेपाल भित्रिएको सुवेदीको भनाइ छ । ‘भारत सरकाले त्यहाँका मत्स्य किसानलाई सिँचाईमा सहुलियत र विद्युत निःशुल्क रुपमा उपलब्ध गराउने उनले दाबी गरे । उनले भने, ‘उत्पादन लागत कम र भन्सार छली यहाँ ल्याएपछि लोकल माछाको मूल्यमा बेच्न पाउँदा फाइदा छ ।’
सुवेदीले स्वदेशी माछा उत्पादन गर्दा नै प्रति किलो ३०० देखि ३५० भन्दा माथि लागत पुग्ने जिकिर गरे । अन्य खर्च जोड्दा अझै माछाको मुल्य बढ्ने उनको भनाइ छ । सरकारले आत्मनिर्भर भइसकेको मत्स्य किसानलाई जोगाउन भारतीय माछा आयातमा रोक र अनुदानमा जोड दिनुपर्ने उनले बताए । साथै सुवेदीले स्वदेशी मत्स्य किसानलाई प्रोत्साहन गर्नका लागि यहिको उत्पादन खरिद गर्न अनुरोध गरे ।
आयातित माछा ग्रेडिङ गरेर एकनासको हुने भएकाले स्वदेशी र विदेशी सजिलै छुट्टिने उनको भनाइ थियो ।
स्वदेशी उत्पादनको बजारिकरणमा सुनिश्चितता एवं आयात प्रतिस्थापन गर्न सरकारले गरेको प्रतिबद्धतालाई विज्ञप्ति मार्फत पुनः ध्यानाकर्षण गराइएको छ । कृषकहरुको आकर्षण बढिरहेको अवस्थामा भारतबाट आयतित माछाले स्थानीय किसानहरुको बजार धारासायी बनाएको छ । भारतीय बजार हावी हुदा मत्स्य किसानहरुले आफ्नो लागत उठाउन नसकेको उनीहरुको भनाइ छ । क्षमताअनुसार उत्पादन गर्न किसान हिच्कीचाइ रहेका छन् । यस्तै अवस्था रहे बैंक र अन्य वित्तिय संस्थाहरुबाट लिएको कर्जा भुक्तान गर्न नसकी पेशाबाट नै पलाएन हुने अवस्थामा मत्स्य किसान पुग्ने उनीहरुको गुनासो छ ।
हाल नेपालको मत्स्य उत्पादन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा लगभग १.६ प्रतिशत र कुल कृषि ग्राहस्थ उत्पादनमा ४.२ प्रतिशत योगदान पु¥याएको मत्स्य व्यवसायी संघको दाबी छ । यस क्षेत्रमा हाल माछापालनतर्फ डेढ लाख र अन्य सम्बन्धित क्षेत्रमा लगभग साढे चार लाखसहित छ लाखको हाराहारीमा जनशक्ती पूर्णरुपले रोजगार पाइरहेको संघले जनाएको छ ।
अवैध एवम् अस्वस्थ माछा आयात नियन्त्रण र सचेतनाका लागि उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, रत्ननगर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ खैरहनी, चितवन चेम्बर अफ कमर्श, चितवन मत्स्य व्यवसायी संघ र नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति सक्रिय बनेको छ । जिल्लामा गत असोज ४ गते २ टन अवैध माछा बरामद गरी नष्ट गरिएको थियो ।
























