राजनीति
कमल थापाले भनेः राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ,ईतिहासले सदैव प्रशंसा गर्नेछ

काठमाडौं, असोज ५-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकमा राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन्। संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई अध्यक्ष थापाले स्वभाविक रहेको दाबी गरेका छन्।
ुप्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ, सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्।
अध्यक्ष थापाले राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जलि दिने सरकारको प्रयासलाई राष्ट्रपतिले रोकेको बताएका छन्। ‘राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जलि दिने सरकारको प्रयास असफल भएको छ। राजनीतिक रुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले सदैव प्रशंसा गर्नेछ। राजा वीरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको सर्वविदितै छ, उनले भनेका छन्।


























