Breaking News

सरकारले भारतीय दूध आयात खुलाएको भन्दै चितवनका किसानको विरोध, बिचौलियाको पक्षमा लागेको आरोप

Banner

चितवन, असोज ४-

सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् ।
राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले किसानको हितविपरीत काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गरे । आयातित दूधका कारण नेपालमा किसान बिस्थापित हुने स्थितिमा पुग्ने उनको भनाइ थियो । उनले भने, ‘नेपालका दुग्ध उत्पादक सहकारी एवम् किसानसँग मोलमोलाई गर्नका लागि बिचौलियको पक्षमा सरकारले निर्णय ग¥यो ।’ अहिले नेपालका दुग्ध उद्योगले किसानलाई तिर्नुपर्ने रकमसमेत नतिरेको बताउँदै उनले अहिलेसम्म नेपालको उत्पादनले पुगेको दूध अहिले नपुग्नुका कारण खोजिनुपर्ने बताए ।

सरकारको निर्णय नसच्चिए किसान आन्दोलनमा उत्रने उनको भनाइ थियो । सरकारले विसं २०७५ बाट दूध आयातमा रोक लगाएको बताउँदै संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सरकारबाट भएको गल्ती सच्चिनुपर्ने बताए ।

नेपालमा माग बढेको भए उत्पादनसमेत बढाउन लाग्नुपर्नेमा विनाआधार आयात गर्न दिनु किसानको हितविपरीत भएको उनको भनाइ थियो । चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्ला घोषणा भइसकेको भन्दै उनले भारतबाट आयात गरिने दूधलाई रोक्नका लागि सडकमा बस्न तयार रहेको बताए । संघका सचिव किशोर बगालेले सरकारले किसानको मर्म बुझ्नुपर्ने बताए । आफूहरुले यो विषयमा सरकार र केन्द्रमासमेत जानकारी गराउँदा गराउँदै किसानको हितविपरीत निर्णय गरिएको बताए ।

चितवनमा दुधालु गाईभैँसी ६८ हजार ६११ वटा रहेको र दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको उनले जानकारी दिए । यसमध्ये ४५ प्रतिशत दूध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादित दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको संघले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>