कृषि

मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका भारतीय माछा गरियो नष्ट

Banner

चितवन,असोज ४–
भरतपुर महानगरपालिका–१ रामनगरमा मत्स्य व्यवसायीले नियन्त्रणमा लिएको भारतीय माछा नष्ट गरिएको छ । वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नम्बरको यात्रु बहाक बसबाट नियन्त्रणमा लिइएको माछा हिजो (सोमबार) भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरको कार्यालय पछाडि खाल्डो खनेर पुरिएको हो ।

माछा नियन्त्रणमा लिएर व्यवसायीले प्रहरीको जिम्मा लगाएका थिए । सोमबार साँझपख पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरमा माछाको मुचुल्का गरेर नष्ट गरिएको हो । १४ कार्टुन भारतीय माछा नष्ट गरिएको व्यवसायी लालबहादुर तामाङले बताए । ११ कार्टुन छडी माछा नेपाली उत्पादन भनिएपनि वीरगञ्जबाट माछा पठाउने अंश फिस सप्लायर्सले बील देखाउन नसकेको तामाङले बताए ।

यात्रुबहाक बसमा राखेर पोखरा लैजादै गरिएको नैनी, रहु र पंगास गरी ६२० किलो माछा चितवनका मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका थिए । भेटेरिनरी प्रमाणपत्रमा पिकअप गाडीमा ढुवानी गर्ने भनिएकामा यात्रुबहाक बसमा माछा भेटिएपछि व्यवसायीले माछा नियन्त्रणमा लिएका हुन् ।

गैरकानुनी रुपमा माछाको ढुवानी भएको पाइएपछि पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका पशु प्राविधिक शिरिष गौतमले माछा नष्ट गर्न निर्देशन दिएका हुन् । कार्टुनमा राखेर लैजादै गरिएको माछा ५० देखि ६० प्रतिशत जति सडेको पाइएको पशु प्राविधिक गौतमले बताए ।
अनुमति दिएको भन्दा फरक गाडीबाट माछाको ढुवानी भएकाले माछा नियन्त्रणमा लिइएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>