राजनीति
प्रधानमन्त्री कार्यालयले नै लुकायो प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति

काठमाडौं,असोज ३-
सरकारले प्रधानमन्त्री तथा मन्त्रिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण भने सार्वजनिक गर्न सकेको छैन । ढेड साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको ढेड साता बितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरू सबैको सम्पत्ति विवरण गोप्य राखेको हो । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने दायित्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै हो तर सो कार्यालयले बेवास्ता गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । प्रधानमन्त्री कार्यालय स्रोतले भने सबैको सम्पत्ति विवरण प्राप्त भइसकेकको र दुई/चार दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको दाबी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीले एक वर्षदेखि नै सम्पत्ति विवरण गोप्य राख्दै आएका थिए । उनीहरूले सम्पत्ति विवरण गोप्य राखेकोमा व्यापक विरोध हुन थालेपछि एक वर्षपछि मात्रै मन्त्रिपरिषद् बैठकले सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सरकारमा आएको ६० दिनभित्र वा आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । तर, वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण एक वर्षदेखि गोप्य रहँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।
























