राजनीति
चोलेन्द्रशमशेर जबराले सर्वोच्चमा पठाए आजदेखि काममा फर्कने सूचना

काठमाडौँ,असोज २-
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका छन् । तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरेका छन्, उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ ।
शनिबार अबेर राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै गर्दा जबराले भने आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाएका थिए । आइतबारदेखि नियमित काममा फर्कन थालेकाले आवश्यक तयारी गर्न भन्दै उनले कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिएपछि सर्वोच्च प्रशासन, न्यायाधीशहरू र बारका पदाधिकारीको आ–आफ्नो समूहमा तीव्र छलफल भएको थियो । संसदीय छानबिन समितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको सुरक्षा गर्न सरकारले पनि भूमिका खेल्नुपर्ने निष्कर्ष छलफलले निकालेको छ ।
जबराले सर्वोच्च अदालत फर्कन सूचना पठाएको पुष्टि गर्दै कानुनमन्त्री गोविन्द शर्माले त्यस्तो कदम सफल भने नहुने टिप्पणी गरे । ‘आइतबारदेखि सर्वोच्च आउने भनेर उहाँले खबर पठाउनुभएको सुनिएको छ, तर त्यो कदम सफल हुँदैन किनकि कानुनले आफ्नो काम गर्छ,’ उनले भने ।
छानबिन गरिरहेको प्रतिनिधिसभाको कार्यकाल नै सकिएकाले महाभियोगको अस्तित्व सकिएको भन्दै आफू पदमा बहाल हुने खबर उनले गरेका हुन् । तर, कानुनमन्त्री शमाले महाभियोग लाग्ने आधार खुलाएर संसदीय समितिले प्रतिवेदन समेत दिएको अवस्थामा जबरा काममा फर्कन नमिल्ने दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।

























