चितवन विशेष

यमबहादुर परियारको एमाले प्रवेशसँगै चितवनमा माओवादीको गढ भत्किएको हो ?

Banner

चितवन, भदौ ३१ । कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि २०३१ सालमा मोहन विक्रम सिंहको नेतृत्वमा नेकपा चौथो महाधिवेशन भएको थियो । त्यतिबेला देखि नै यमबहादुर परियार ‘इन्द्रजीत’ले राजनीतिमा पाइला चालेका हुन् । त्यसपछि नेकपामा अनेक टुटफुट र जुट हुँदा परियार नेकपा मसाल, एकता केन्द्र, नेकपा माओवादी, एमाओवादी हुँदै नेकपा माओवादी केन्द्रसम्म आइपुगेका थिए ।

लामो समयसम्म प्रचण्डको साथमा लागेर पाँच पटक जिल्लाको नेतृत्व समेत गरेका परियार बिहीबार एमालेमा प्रवेश गरे । एमाले प्रवेश गर्ने क्रममा उनले भने, ‘सच्चा बामपन्थी कम्युनिष्ट पार्टी एमाले नै हो ।’ परियार चितवन निर्वाचन क्षेत्र नं ३ का बासिन्दा हुन् । माडीबाट २०६१ सालतिर बसाईसरी भरतपुर–१३ आएका परियार चुनावका बेला प्रचण्डको कमाण्डरका रुपमा काम गर्दै आएका थिए ।

भरतपुर–१३ माओवादी केन्द्रको गढ हो । २०७४ र २०७९ मा भएको दुवै स्थानीय तहको निर्वाचनमा यस वडामा माओवादीले जित हासिल गरेको थियो । यहि वडाका बासिन्दा भएर पछिल्लो पटक पार्टीको केन्द्रीय सदस्य र जिल्ला सह–इन्चार्ज भएका परियारले एमाले रोजेपछि धेरैले माओवादीको गढ भत्किएको बताएका छन् । परियारले एमाले रोजेपछि माओवादीलाई ठूलो धक्का पुगेको छ । परियारसहित जनयुद्ध लडेका अन्जन तिमिल्सिनासहित १० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

आम चुनावको मुखमा परियारले माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्नुलाई धेरैले चासोका रुपमा हेरेका छन् । चितवनको राजनीतिले यसले ठूलै तरंग ल्याएको छ । माओवादीका केहि नेता कार्यकर्ताले परियारलाई अवसरवादी भनेका छन् भने केहिले लामो समय पार्टीमा योगदान दिएका नेतालाई सम्हाल्न नसक्नु कमजोरी भएको बताएका छन् ।

प्रदेश सभा सदस्यको लागि परियारको नाम क्षेत्र नं ३ (ख)बाट पार्टीले सिफारिस पनि गरेको थियो । माओवादी केन्द्र भरतपुर–१३ का अध्यक्ष सुदिप सुवेदीले पार्टी छाडेर जाने वित्तिकै अवसरवादी भन्न नमिल्ने बताए । यद्यपी परियारको पार्टी परित्यागले वडाको राजनीतिमा खासै प्रभाव नपर्ने उनले दाबी गरे ।

‘वडा कमिटीमा उहाँको श्रीमति हुनुहुन्छ । उहाँले पनि हिजो मेसेन्जर ग्रुपबाट लिभ गर्नुभाछ’, उनले भने, ‘उहाँको प्रभावले वडाबाट अरु कसैले पार्टी छाडेर गएको भन्ने सुनेको छैन । उहाँले पार्टी छाड्दा मनोवैज्ञानिक प्रभाव त पर्ला तर संख्यात्मक प्रभाव परेको छैन ।’ परियारलाई आफुले नेता मान्ने भएपनि वडामा उनको खासै ठूलो प्रभाव नरहेको सुवेदीको भनाइ छ ।

माओवादी केन्द्र परित्याग गरी स्वतन्त्र कम्युनिष्ट भएर बसेका प्रेम रिमालले परियार नयाँ ठगको झुण्डबाट अनुभवी ठगको संगठमा प्रवेश गरेको टिप्पणी गरेका छन् । फेसबुकमा लेख्दै उनले भने–परियार जस्तो कम भ्रष्ट, कम पदलोलुप र जसरी पनि कमाउनुपर्छ भन्ने सोँच नभएको मान्छे न माकेमा थिए न त एमालेमा छन् । परियालाई गाली गर्ने माओवादीको समूह पछि एमालेमै गएर मिसिने उनले दाबी गरे ।

वाइसियल नेता सन्तोष पनेरुले फेसबुकमा एक स्टाटस राख्दै परियारको बहिर्गमनको विषयमा जिम्मेवारी लिएकाले समिक्षा गर्नुपर्ने बताए । परियारलाई गाली वा सराप गर्ने शब्द आफुमा नरहेको भन्दै उनले परियार खराबहरुको बीचमा आशा लाग्दा र वर्ग चेत भएका व्यक्ति भएको बताए । ‘दाई गए, नजानु पथ्र्याे, नगएको भए हुन्थ्यो’, उनले लेखेका छन्, ‘हुन त आउने जस्ता पनि महान् मानिने, जानेहरु असलै पनि गद्धार देखिने यो कम्युनिष्ट आन्दोलनको खराब नियति नै हो ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>