नवलपरासी

पश्चिम नवलपरासी सहित तराईका जिल्लाहरुमा बालबालिका अपहरणको त्रास, भारतीयमाथि ठाउँठाउँमा भौतिक आक्रमण

Banner

रुपन्देही, भदौ २७ –

लुम्बिनी प्रदेशका तराईका जिल्लामा बालबालिका अपहरणको त्रास बढ्दै गएको छ । बालबालिकाको अपहरण बढ्दै जादा यहाँका विद्यार्थी तथा अभिभावक त्रसिद भएका छन् । एक सातायता पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, दाङ र बर्दियाका दक्षिणी क्षेत्रमा दिनहुँ बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा आएपछि विद्यार्थी र अभिभावकलाई थप तनाव भएको हो ।

शुक्रबार मात्र बुटवलमा विद्यालय गएका तीन बालकहरु सम्पर्कबिहीन भएर तीन दिनपछि भारतको मुम्बईमा अर्धचेत अवस्थामा भेटिएको थियो । स्थानीय नविन र नहरपुर माविमा पढ्ने ती बालक कसरी मुम्बई पुगे भन्ने विषय नखुलेपनि यति लामो बाटो दुई दिनमै पुगेको विषय थप रहस्यमय भएको स्थानीय अभिभावक महेन्द्र थापाले बताए ।

यस क्षेत्रका सबैजसो विद्यालयले अभिभावलाई पत्र नै पठाएर विद्यालय जाने र आउने समयमा ध्यान दिन सचेत गराएका छन् । केही विद्यालयमा भने व्यस्त अभिभावकले बालबच्चा पठाउनै छाडेका छन् । बुटवलको इडन स्कुलका प्राचार्य शिवहरि भट्टराईले दिनहुँ बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा भाइरल बनेकाले सबै अभिभावकलाई सूचना गरेरै सर्तक बनाएको र आफूले पनि चासो बढाएको बताए ।

अभिभावक रिता केसीले तराई मधेसमा मात्रै नभएर बुटवलको व्यस्त शहरमा समेत बच्चा अपहरण भएकाले विषयले सबै अभिभावकको सातो गएको र विद्यालय पठाउनै समस्या भएको बताइन् । बजार तथा गाउँ क्षेत्रमा बच्चा चोरको हल्ला फैलिएपछि स्थानीयहरु सशंकित भएका छन् । रुपन्देहीका भैरहवा, धकधई, मर्चवार, लुम्बिनी क्षेत्रका बिभिन्न व्यक्तित्वहरुले बिहानैदेखि भारतबाट बच्चा चोरी गर्ने गिरोह नेपाल छिरेको र यसबाट सावधानी अपनाउन बताउँदै सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

यो कारणले बजारमा विभिन्न कामले हिंड्ने भारतीयहरुमाथि स्थानीयले ठाउँठाउँमा भौतिक आक्रमण नै गरेपछि थप तनाव बढेको छ । यसकारण भारतीय मूलका जोगी, माग्नेहरु जोखिममा परेका छन् भने घरघरमा माग्नकै लागि आउनेहरुसमेत स्थानीयको केरकारमा परेका छन् ।

केही दिनअघि रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ बैरिहवा बस्ने १५ बर्षिय सन्दिप हरिजनले जोगीको भेषमा आएका केहीले आफूलाई चक्कु प्रहार गरी घाइते बनाएको र रोहिणी २ का पूर्व वडा सदस्य अनरुध प्रसाद खरविन्दले बालक जेनतेन गरेर भागेर घर पुगेको बताए । रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा पानी परिरहेको समयमा ओत लागेका एक जोगीलाई स्थानीयहरुले केरकार गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

स्थानीय युवाहरुले जोगीलाई केरकार गरेको र पछि स्थानीय प्रहरीको जिम्मा लगाएका थिए । रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार यस्तो घटनामा धेरै सत्यता नभएपनि सर्तकता अपनाउन आग्रह गरेका छन् । मृगौला बेच्ने उद्देश्यसहित बच्चा चोर्ने गिरोह सक्रिय रहेको खबर बजारमा चले पनि यसमा कुनै सत्यता नरहेको प्रवक्ता अर्यालको भनाइ छ । उनले यस्तो अफवाहको पछि नलाग्नसमेत जिल्लावासीमा अनुरोध गरेका छन् ।

आइतबार मात्रै साँझ ७ बजे रुपन्देहीको पूर्व मंगलापुर टोलमा एक शंकास्पद अपरिचित महिलाले एक बच्चा जंगलको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्न लाग्दा भाग्न खोजेको र तुरुन्त पुलिसलाई खबर गरि पक्राउ गरेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।ती महिला भारतको हैदरवाद रहने वल्ल र बच्चाको घर बुटवल, बाबाआमा घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको स्थानीय आयुषा कंडेलले भिडियोसहित सामाजिक सञ्जालमा राखेकी छन् । उनले यस्तो तरिकाले आउनेहरुप्रति सचेत रहन आग्रह गरेकी छन् ।

पछिल्लो एक सातामा बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा अपहरण गर्न खोजेको भन्दै भारतीयमाथि आक्रमण भएको विषयलाई प्रहरी प्रशासनले भने सामान्य रुपले लिएको अभिभावकको गुनासो छ । प्रहरीले आफ्नो निगरानी बढाएको बताएपनि यसबारे औपचारिक योजना बनेको छैन । चाडपर्व नजिक आएको समयमा अभिभावक र विद्यार्थीमा बढेको यो त्रास हटाउन विद्यालय प्रशासन, प्रहरी तथा सरकारले योजना बनाउनुपर्ने अभिभावक संघको माग रहेको छ ।

रामप्रसाद आचार्यले लेख्नुभएको यो समाचार नेपाल प्रेसमा प्रकाशित छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>