राजनीति
चार दिनभित्र महाभियोगको टुंगो लगाउन जबराको चुनौती

काठमाडौँ, भदौ २७–
निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले चार दिनभित्र महाअभियोगको टुंगो लगाउन प्रतिनिधिसभा महाभियोग सिफारिस समितिलाई चुनौती दिएका छन्। आइतबार सिफारिस समितिलाई बयान दिँदै जबराले महाभियोगको विषय दुई देखि चार दिनभित्र टुंगो लगाउन भनेका हुन्।
उनले आफूविरुद्ध महाभियोग लगाएर संसद्ले आफूअनुकूल प्रधानन्यायाधीश बनाउन खोजेको धारणा राखेका थिए। उनले प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने अवस्थालाई संकेत गर्दै आफ्नो कार्यकाल भने मंसिर २७ सम्म रहेको बताए।
जबराले महाभियोग दुईतिहाइले पारित गर्न चुनौती पनि दिए। उनले भने, ‘मलाई लगाएको आरोप अरूलाई लगाएको भए भागिसक्थे तर मलाई महाभियोग पारित हुन्छ भन्ने पटक्कै विश्वास थिएन, छैन, त्यसैले म यहाँ जवाफ दिन आएको हुँ।’ उनले महाभियोगमा लगाइएका आरोप सत्य नभएकाले आफू खुलेर जवाफ दिन सक्ने अवस्थामा रहेको बताए।
जबरालाई महाभियोग सिफारिस समितिले आइतबार ३२ वटा प्रश्न सोधेको थियो। १२ देखि ३५ बुँदासम्मका प्रश्नको उत्तर दिँदै जबराले आफू निर्दोष भएको दाबी गरे। आफूले अदालतमा ७/८ जना ठालु वकिलको एकलौटी ध्वस्त पारेको दाबी गर्दै जबराले त्यसैकारण उनीहरू आफ्नो विरोधमा लागेको बताए। ‘सीमितले सबै इजलास कब्जा गर्ने र महिला तथा युवा वकिललाई बहस गर्न नदिने प्रवृत्ति मैले अन्त्य गरेको हुँ’, उनले भने, ‘त्यसपछि उनीहरू ममाथि आक्रमण गर्न लागे।’
नागरिक नेटवर्क डटकमबाट


























