राजनीति

जनता सहभागिता नभएको विकास सफल हुन्न : मन्त्री भुसाल

Banner

ललितपुर, भदौ २४-

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।”

आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताउनुभयो । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्मतीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बुङ्मतीका हरेक घरमा एक कोठा घरबास (होमस्टे)का लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ ।”

बुङ्मतीका कला, संस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको जनताको आर्थिक अवस्था माथि उठाउनका लागि सिङ्गो बुङ्मतीलाई एकताबद्ध गरौँ, सहिष्णुण बनाऔँ ।” कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री जीवनराम खड्काले महर्जन समाजले आगामी दिनमा यहाँको समाज रुपमान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी समाजका पदाधिकारीले समाजको विकास र रुपमान्तरणमा सहयोग गर्न राजनीतिक दल एवं समाजका अगुवालाई आग्रह गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>