Breaking News
फेरि राजनीतिको केन्द्र बन्दै चितवन, चुनाव नजिकिएसँगै नेताहरुको दौडधुप बढ्दो

पूजा ढकाल
चितवन, भदौ २२-
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै चितवनमा नेताहरुको दौडधुप बढेको छ ।
प्रमुख राजनीतिक दलका नेताहरुले उम्मेदवारको लागि आवेदन दिएर आकांक्षा व्यक्त गरेसँगै नेताहरुको दौडधुप बढेको हो ।
यसअघि गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा पनि चितवनमा केन्द्रीय मन्त्रीदेखि नेताहरुको दौडधुप बढेका थियो । अब निर्वाचन आउन जम्मा जम्मी ७० दिन मात्रै रहेको छ ।
त्यस्तै मंसिर ४ गते हुने निर्वाचनको लागि चितवनको विभिन्न क्षेत्रमा प्रदेश र संघमा धेरै नेताहरुको आकांक्षा देखाएका छन् । उम्मेदवारको लागि आवेदन दिएका नेताहरुले घरदैलो र भेटघाट पनि सुरु गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रीय मन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, योजना आयोगका अहिलेका उपाध्यक्ष विश्व पौडेललगायतका नेताहरुको चितवनसँग सम्पर्क बढाउने क्रम बढ्दो छ । यसबाट फेरि आगामी निर्वाचनमा चितवन देशकै राजनीतिको केन्द्र बन्दै गइरहेको छ ।
चितवनको आर्थिक र सामाजिक विकासबारे अध्ययन तथा अनुसन्धान गर्दै आएका सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक कपिलदेव सुवेदीले जनसंख्या र शहरीकरणको चापले पनि चितवनमा केन्द्रको आँखा पर्न थालेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ राजनीतिक, आर्थिक र सामाजिक तथा सांस्कृतिकरुपले भाइब्रेन्ट बन्दै गएको छ । धेरैले चितवनबाट नै आफ्नो राजनीतिक जीवन अगाडि बढाउन चाहन्छन् । ’ उनले चितवनको अर्थतन्त्र एक खर्ब बढी रहेको बताउँदै सेवा क्षेत्रमा झण्डै ६० प्रतिशत लगानी बढिरहेकोले रोजगारीको अवसरहरु बढ्दै जाने जानकारी दिए । बसाइँसराइँको कारणले पनि चितवनबाट राजनीति गर्न सजिलो हुने उनले बताए । उनले भने, ‘ चितवन जिल्ला देशको हरेक राजनीतिक र सामाजिक आन्दोलनहरुमा सधै अगाडि छ । हरेक आन्दोलनहरुमा चितवन जिल्लाले अग्रणी भूमिका खेलिरहेको छ । चितवनका धेरै नागरिकले राजनीतिक आन्दोलनमा शहिद बनेका छन् । धेरै पछि विकास भएको शहर भएकोले पनि चितवनलाई नेपालकै ७८ औं जिल्ला भनिन्छ । धेरै जनजातिहरुको बसोबास रहेको र नेपालकै मध्य भागमा रहेकोले पनि यहाँबाट राजनीतिमा अगाडि बढ्ने धेरैको सपना हुने गर्छ ।’
पछिल्ला परिदृश्य:
पछिल्लो समय चितवनमा लालपुर्जा बाड्नेदेखि विकास निर्माणका योजनाहरु शिलान्यास गर्ने क्रम बढ्दै गएको छ । सत्तागठबन्धनको मुख्य साझेदार दल भएको नाताले र आफ्नो निर्वाचन क्षेत्रमा भरतपुरकी मेयर आफ्नै छोरी भएकै कारणले शिलान्यास गर्ने अवसर प्रचण्डले पाइरहेका छन् ।
यसभित्र उनको आगामी चुनावी स्वार्थ पनि लुकेको छ । अघिल्लो चुनावमा शिलान्यास गरिएका कतिपय आयोजनाहरु अलपत्र रहेकै अवस्थामा फेरि अन्य नयाँ योजनाहरु शिलान्यास भएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका भित्र विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको सुरुवात गरेका हुन् । त्यस्तै शिलान्यास कार्यक्रममा सांसद प्रचण्डले विकास र समृृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताएका छन् । भदौं ८ गते मात्रै उनले माडी गएर विभिन्न तीन वटा आयोजना पनि शिलान्यास गरेका थिए र एक कार्यक्रमबीच माडी–ठोरी हुलाकी सडक अन्तरगत रतनी पुलको पनि उद्घाटन गरेका थिए । त्यति, मात्रै नभएर नारायणी नदीमा केही दिनभित्रै नयाँ पुलको शिलान्यास गर्ने आस्वाशन देखाउँदै उनले भरतपुर र माडीमा देशलाई नै मोडेल दिनेगरी विकास गर्ने चाहना रहेको बताएका थिए । ‘प्रचण्ड’ चुनाव मिति घोषणा भएपछि पटक पटक चितवन आएका छन् । यसअघिको चुनावमा उनले माडीलाई पाँच वर्षभित्र ‘मणि’ बनाउने उद्घोष गरेका थिए भने ठोरी नाका सुचारु गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पनि चितवन आएका थिए । पाण्डे चितवन क्षेत्र न.३ बाट चुनाव लड्ने तयारीमा छन् । राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन चितवनको कार्यसमिति गठन कार्यक्रममा पाण्डेले सिद्धान्तहिन बनेका दलहरु विदेशीको इशारामा लागेको आरोप लगाएका थिए । त्यस्तै उनले प्रचण्डलाई आमूल परिवर्तनमा हिडेकाहरु प्रधानमन्त्री बन्न भौतारिएको आरोपसमेत लगाएका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै भने, ‘संसदीय व्यवस्था नै ठिक छैन भन्दै हिडेका नेताहरु अहिले अलमलिएको बुटवा सरह बनेका छन् । ’ चुनाव सुरु भएसँगै नेताहरुको आरोप प्रत्यारोप पनि सुरु भएको छ ।
त्यस्तै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं –१ बाट चुनाव लड्ने बताउँदै आएका छन् । त्यस्तै उनले अमेरिका र बेलायतका अर्थशास्त्रीहरु चुनाव लड्न आए पनि आफ्नो क्षेत्रमा फरक नपर्ने बताएका छन् । उनले अमेरिका र बेलायत जहाँ पढे पनि नेपाली अर्थशास्त्रको नेपाली दृष्टिकोण फरक हुने भन्दै आफ्नो निर्वाचन क्षेत्रमा नागरिकले भोगेका समस्याहरु र आवश्यकताहरु बुझेर सोही अनुसार विकास गर्न आफू सक्षम रहेको दाबी गरेका छन् । हाल अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता आफूले लगभग पूरा गरेकोले जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको उनको धारण छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले चितवन क्षेत्र नम्बर १ बाट संघीय संसदमा उठ्ने तयारी गरेका छन् ।
उनले तीन दशकको लगानी राष्ट्रहितमा लगाउन चाहेको बताइरहेका छन् ।
नेपाली कांग्रेस रत्ननगर–१६ द्वारा आयोजित अन्तर्संवाद कार्यक्रममा उनले मंसिर ४ मा हुने आमनिर्वाचनका लागि पार्टीले आफूलाई उमेदवार बनाए जनताको मत जितेर आफूले आर्जन गरेको लगानी राष्ट्रहितमा लगाउने बताएका हुन् । आफूले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदा गर्व गर्नलायक काम गरेको उनले स्मरण गरे । २०७२ सालको भूकम्पपश्चात् नीतिगत निर्णय, पूर्वाधार विकास र कृषि क्षेत्रका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताए । वाग्लेले भने, ‘भूकम्पले पु¥याएको क्षतिको यथार्थपरक आँकलन गरी अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत चार खर्ब लगानी भित्र्याएर पूर्वाधार, ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको पुनर्निर्माण र भूकम्प प्रभावितको पुनःस्थापनाका लागि अभूतपूर्व सफलता हासिल गरेको छ्ु ।’ त्यसैगरी केन्द्रीय सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले पनि चितवन क्षेत्र नम्बर १ र २ बाट उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्दै चितवनमा आउने जाने क्रमलाई बढाएका छन् । एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, एमाले सांसद कृष्णभक्त पोखरेल पनि अहिले चुनाव लक्षित कार्यक्रममा सक्रिय रहँदै आएका छन् । पूर्व प्रधानमन्त्री प्रचण्ड, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, बहालवाला मन्त्री उमेश श्रेष्ठ , अर्थशास्त्रीहरु डा स्वर्णिम वाग्ले र विश्व पौडेलहरु निर्वाचन लड्ने तयारीमा रहेकोले पनि चितवनतर्फ देशकै ध्यान आकर्षित भएको छ ।
























