नवलपरासी

नवलपरासी पूर्वका तीन नगरपालिकाद्वारा सय दिनको काम सार्वजनिक

Banner

मध्यविन्दु,  भदौ २१-
नवलपरासी पूर्वका तीन नगरपालिकाले जनप्रतिनिधिको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० पछि कार्य सम्हालेका जनप्रतिनिधिले एक सय दिनका उपलब्धि सार्वजनिक गर्न थालेका हुन् । मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले निर्वाचित भएपश्चातका उपलब्धि सार्वजनिक गर्दै नागरिक सेवा केन्द्रको स्थापना गरी नागरिकलाई सहज सेवा दिइएको उल्लेख गर्नुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्रत्येक महिना घरघरमै पुगेर स्वास्थ्य जाँच गर्ने, अवैधरूपमा उत्खनन गरिएको वस्तुलाई प्रहरीको रोहबरमा नियन्त्रण गर्ने कार्य एक सय दिनका महत्वपूर्ण प्रगति रहेको उहाँको भनाइ छ ।

त्यसैगरी देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले आफू निर्वाचित भएपछिको एक सय दिनमा ज्येष्ठ नागरिकको घर–घरमा गई स्वास्थ्यपरीक्षण गर्ने कार्यक्रम सुरुआत गरिएको बताउनुभयो । नगरपालिकाले देवचुली स्वास्थ्यचौकीलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको, ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन कार्यदल बनाइएको, कृषि र पशुपालनलाई बढावा दिई दूध, मासु र खाद्यान्नमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवस्थित योजना निर्माण गरिएको, अनलाइन क्युआर कोडबाट राजस्व तिर्न मिल्ने कार्य गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै गैँडाकोट नगरपालिकाका प्रमुख सूर्यभक्त अधिकारीले एक सय दिनका उपलब्धिलाई ७२ बँुदामा समेट्दै जनजीविकाका सवाललाई प्राथमिकता दिइएको बताउनुभयो । “नगरभित्रका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनलगायत व्यवस्थापनका लागि नगरपालिकामा सेवा केन्द्र स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “ चार हजार पाँच सय १० भूमिहीन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न प्रक्रिया अघि बढाइएकोे छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>