चितवन विशेष
चितवन क्षेत्र नं २ (क) बाट प्रदेशमा कांग्रेसबाट चुनाव लड्न चाहने लक्ष्मण गुरुङ को हुन् ?

प्रतिमा कुमाल
चितवन, भदौ २१–
चितवन क्षेत्र नम्बर २ ‘क’ को प्रदेश सांसदमा प्रदेशतर्फ कांग्रेस नेता लक्ष्मण गुरुङले उम्मेदवारको दाबी गरेका छन् ।
कांग्रेस क्षेत्रीय समितिमा गुरुङले टिकटको दाबी गर्दै निवेदन दिएका हुन् । प्रदेश क्षेत्रको कार्यसमितिले गुरुङसहित तीन जनाको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रदेश सांसदका लागि समितिले प्रत्यक्षतर्फ टंकनाथ पौडेल, कृष्ण कुमार श्रेष्ठ र लक्ष्मण गुरुङलाई सिफारिस गरेको हो ।
सिफारिसमा रहेकामध्ये जनजाति उम्मेदवारको कारणले पनि चर्चामा रहेका गुरुङको जन्म साबिक कविलास गाउँ विकास समिति वडा नं. १ को जुगेडीमा २०३६ सालमा भएको थियो । अहिले भरतपुर महानगरपालिका–२९ मा उनको जन्मस्थल पर्छ । २०५१ सालमा उनी नेवि संघमा आबद्द भएका थिए । कविलास मावि को नेवि संघ अध्यक्ष भएर उनले राजनीतिक जीवनको सुरुवात गरे । विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा पाइला चालेका उनले पार्टीको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । यसै क्रममा उनलाई कांग्रेस को ११ औं अधिवेशनले पार्टीको कविलास गाउँ कार्यसमितिको सचिवको जिम्मेवारी प्रदान ग¥यो ।
पार्टीको जिम्मेवारी र जनताप्रतिको दायित्व पूरा गर्दै गर्दा १२ औ महाधिवेशनले गुरुङलाई क्षेत्रीय सचिवको पदभार दियो । यस अवधिमा आफ्नो जिम्मेवारी निभाउँदै अगाडि बढेका गुरुङ १३ औं र १४ औं महाधिवेशनमा क्षेत्रीय सभापतिका प्रत्यासी थिए । तर, गुरुङ १३ औं महाधिवेशनमा रमेश अधिकारी र १४ औं महाधिवेशनमा भरत लामिछानेसँग झिनो मतले पराजित भए ।
सानै उमेरदेखि स्थानीय क्लबमा पदाधिकारीको जिम्मेवारी सम्हाल्दै सामाजिक कार्यमा लागेका गुरुङ, रेडक्रस वन विद्यालय, बाटो निर्माण उपभोक्ता समिति, सहकारीलगायत थुप्रै सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजसेवामा निरन्तर लागि रहेका छन् । गुरुङले भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायबाट गणितमा स्नातकसम्म पढेका छन् । विभिन्न कारणबस उनले आफ्नो पढाइ भने पूरा गर्न सकेनन् ।
चितवनको क्षेत्र न २ अन्तर्गत २१ वटा वडा पर्छ । जसमा कालिका को ११ वटा वडा, इच्छाकामनाको सात वटा वडा र भरतपुर महानगरपालिकाको ३ वटा वडा रहेका छन् । यही क्षेत्रमा जन्मेर हुर्कदै राजनीति र सामाजिक कार्यमा लागेका उनलाई पार्टीले टिकट दिने पूर्ण विश्वास रहेको गुरुङले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘निर्वाचित भए यहाँको विकास निर्माण र यस क्षेत्रको जनजिविकाको सवालमा सधै जनताको हितमा हुने काम गर्न अग्रसर हुन्छु ।’
पार्टीभित्र निष्ठावान इमान्दार र अनुशासित एवम् कुशल सङ्गठनको छवि बनाएका गुरुङले लामो समयसम्म एमालेले लाल किल्ला बनाएको भरतपुरको वडा न २९ साबिक कविलास गाविसमा यसपालीको स्थानीय निर्वाचनमा एमालेका उमेदवारलाई दोब्बर मतले हराइ आफ्नो उमेदवारलाइ वडा अध्यक्ष जिताउन ठूलो भूमिका खेलेको दाबी गर्छन् । उनले भने, ‘ मैले टिकट पाएमा यहाँको माटो सुहाउँदो र भौगोलिक अवस्था, समस्याहरुबाट नजिकबाट अवगत भएकाले जनताले आफूलाई रोज्नेमा म ढुक्क छु ।’
























