राजनीति
सुरक्षा गार्डले गल्ती महशुस गरेकाले रिहा गर्न भनेको छुः मन्त्री श्रेष्ठ

काठमाडौं, भदौ २०-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डलाई छाड्न आफूले गृह मन्त्रालयमा आग्रह गरेको बताएका छन्। सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिव भीम रावहाकले विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङले प्रहरीसमक्ष माफी मागेको बताए।
उनले प्रहरीसमक्ष गल्ती महशुस गरिसकेको भन्दै नियन्त्रणमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाणलाई आग्रह गरेका हुन्। ‘सामान्य पदीय मर्यादालाई समेत ख्याल नगरी सुरक्षा गार्ड गुरूङले मन्त्रीज्यू र सुरक्षाकर्मी समेतलाई अभद्र व्यवहार गरेको विषयलाई लिएर नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएकोमा उनले प्रहरी समक्ष गल्ती महशुस गरिसकेकोले नियन्त्रणमुक्त गरिदिन मन्त्रीज्यूले गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ,’ स्वकीय सचिव रावहाकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत शुक्रबार ठमेलस्थित छायासेन्टरको भिएफएसमा बायोमेट्रिक्सको कामले पुगेको बेलामा मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेका थिए। त्यसै विषयलाई लिएर उनीमाथि अभद्र व्यवहारको मुद्दामा पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप भएको थियो।


























