राजनीति

रविले हिरासतमा रहेका सुरक्षा गार्ड संग भेटेपछि छानबिनमा तानिए इन्स्पेक्टर र असई

Banner

काठमाडौं, भदौ २०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिसँग बसेर गफ गरिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरूङलाई सोमबार लामिछाने प्रहरी वृत्त दरबारमार्ग पुगेर भेटेका थिए। भेटपछि लामिछानेले तस्बिर समेत सार्वजनिक गरेका थिए। तस्बिर सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्‍द्र धानुकले जानकारी दिए।

प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको हो। उनले भेटको क्रममा त्यहाँ रहेका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) लाई छानबिनका लागि रानीपोखरी तानेको बताए। ‘परिसरका एसपी मैनालीको नेतृत्वमा छानबिन गर्न समिति गठन भएको छ। कानुन बमोजिम काम गर्नुपर्नेमा त्यसभन्दा बाहिर गएर गर्नुहुन्न,’ एआइजी धानुकले भने, ‘छानबिनपछि के आउँछ, त्यसपछि थाहा हुन्छ।’

शेरजंग गुरूङमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ। उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। बायोमेट्रिक्सको लागि मन्त्री श्रेष्ठ गत शुक्रबार छाया सेन्टरको भिएफएस ग्लोबलमा पुगेका थिए। त्यहाँ सुरक्षागार्ड गुरूङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस् भनेपछि उनका पिएसओले अभद्र व्यवहार गरेको भन्दै प्रहरीलाई उजुरी दिएका थिए।त्यसपछि उनी पक्राउ परेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>