राजनीति
घनश्यामको व्यङ्ग्य–प्रचण्ड सोह्रश्राद्धको पुरेत

काठमाडौँ, भदौ २०–
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोह्रश्राद्धको पुरेत जस्तो भएको भन्दै व्यङ्ग्य गरेका छन् । चुनाव नजिकिँदै जाँदा नेतालाई विभिन्न कार्यक्रममा सहभागी हुन भ्याइनभ्याई भएको भन्दै उनले प्रचण्ड पनि अहिले सोह्रश्राद्धको पुरेत जस्तो भएको बताएका हुन् ।
मार्क्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा नेता भुसाल बोल्दै थिए । त्यही बीचमा प्रचण्ड कार्यक्रम स्थलमा प्रवेश गरे । मञ्चबाट बोलिरहेका भूसालले व्यङ्ग्य गर्दै प्रचण्डलाई स्वागत गर्दै भने, ‘चुनावको बेलाका नेता सोह्रश्राद्धका पुरेत जस्तै हुन्छन् । मैले अघि पनि यही भनें । प्रचण्डजीलाई कार्यक्रममा स्वागत छ ‘’ हलमा ताली र हाँसो एकसाथ गुञ्जियो ।
त्यसअघि कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू बोलेर कार्यक्रमबाट बाहिरिएका थिए ।


























