चितवन विशेष

भरतपुर महानगरले डेढ करोड खर्च गरी दुई हजार युवालाई नि:शुल्क तालिम दिने

Banner

चितवन, भदौ १९-

भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७९\०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन् । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ ।

भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने बेकरी तालिमको समापन गर्दै कार्यक्रममा मेयर दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गरे ।
तालिमका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने गरी महानगरपालिकाले प्रकृया अगाडि बढाएको उनको भनाइ छ ।

‘महानगरको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई जोड दिएको छ’, उनले भने, ‘उत्पादन वृद्धि गर्ने र लागत घटाउने नीति लिएका छौ । अबको प्राथामिकता उत्पादन र रोजगारी प्रर्वद्धन गर्ने नै हो ।’ मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठूलो संख्यामा रोजगारी सिर्जना हुने बताइन् । भरतपुरमा भइरहेको शहरीकरणले दक्ष जनशक्तिको माग पनि वृद्धि हुँदै गएको उनको भनाइ थियो ।

भरतपुर बहुप्राविधिक शिक्षालयले छोटो समयमा धेरै जना दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गरिन् । शिक्षालयले ३ वर्षदेखि सिटीईभिटीको आंगिक कलेजकारुपमा स्थापना भई होटल व्यवस्थापनको कक्षा र तालिम सञ्चालन गर्दै आएको छ । शिक्षालयले उपभोग गर्दै आएको तीन बिघा जग्गा सिटिईभिटी मातहत ल्याउन नसक्दा आवश्यक पूर्वाधार निर्माण गर्न कठिन भएको छ ।

मेयर दाहालले कार्यपालिका बैठकबाट निर्णय गरी सिटिभिटीको नाममा जग्गा आएसँगै शिक्षा मन्त्रालयले बजेट विनियोजन गर्ने जानकारी दिए । शिक्षालयको अधुरो कामलाई तीब्र ढङ्गबाट अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालयले जग्गा उपलब्ध गराएको थियो ।

यसैबीच शिक्षालयले २८ दिने बेकरी तालिम लिने २० जनालाई माईक्रो ओभनसहित प्रमाण–पत्र वितरण गरेको छ । सिटिईभिटीको दक्षता परियोजनाअन्तरगत कार्यक्रम सञ्चालन भएको तालिम होटल व्यवस्थापन प्रमुख सञ्जिव अर्यालले प्रशिक्षण दिएका थिए । अन्तर्राष्ट्रिय होटलहरुमा प्रयोग गर्ने उपकरणसहित तालिम प्रदान गरिएकाले विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा सहजै रोजगारी पाउने अर्यालले बताए ।
कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, वडा नम्बर २४ का अध्यक्ष रामु गोदारलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>