चितवन विशेष
जनगणनामा चितवनमा एक जना मात्र लैङ्गिक अल्पसंख्यक देखिएपछि नील हिरा समाजको आपत्ति

प्रतिमा कुमाल
चितवन, भदौ १८–
चितवनमा लैङ्गिक अल्पसंख्यकको संख्या एक जना मात्र देखिएपछि नील हिरा समाज चितवन केन्द्रीय तथ्याङ्क विभाग जाने भएको छ ।
राष्ट्रिय जनगणना–२०७८ ले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको संख्या सार्वजनिक नगरेपछि समाज तथ्याङ्क विभाग जाने तयारीमा रहेको हो ।
समाजका जिल्ला कार्यक्रम संयोजक देव श्रेष्ठले हालैको जनगणनाले चितवनमा एक जना मात्र लैङ्कि अल्पसंख्यक देखाएको बताए । उनले भने, ‘करिब ६० जना चितवनमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक छौं । पारिवारिक र कामको कारणले धेरैले आफ्नो जैविक लिङ्ग नै राख्छन् । तर, मेरै अगाडि १० जनाले अन्यमा भर्दा पनि विभागले सार्वजनिक गरेको जनगणनामा चितवनमा एक जनामात्र देखायो ।’
श्रेष्ठले महिला र पुरुषको संख्या सार्वजनिक गरेको विभागले किन लैङ्गिक अल्पसंख्यकको तथ्याङ्क सर्वाजनिक गर्न सकेन भन्ने प्रश्नका साथ अगाडि बढ्ने बताए ।
केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा देशको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको बताएको छ । जसमध्ये एक करोड ४२ लाख ९१ हजार ३११ पुरूष र एक करोड ४९ लाख एक हजार १६९ महिला रहेका छन् । यस्तै चितवनको जनसंख्या सात लाख २२ हजार १६८ रहेको छ ।
प्रत्येक १० वर्षमा गरिने जनगणनामा यस पटक महिला, पुरुष र अन्य गरी तथ्याङ्क संकलन गरिएको थियो । तर, विभागले अन्यको तथ्याङ्क भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।
























